गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ६ गते । गोरखापत्र दैनिकका सहसम्पादक शरदराज सुवेदीलाई वनिताश्री पुरुषोत्तमराज पाण्डेय विशेष सम्मान–२०८२ प्रदान गरिएको छ । साहित्यिक पत्रिका वनिता त्रैमासिक पत्रिकाको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई नगदसहित सम्मान प्रदान गरियो । सहसम्पादक सुवेदीलाई पत्रकारिताका माध्यमबाट पु-याउनुभएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो । सोही समारोहमा वरिष्ठ नाटककार अशेष मल्ल, साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, प्रद्युम्न जोशी, ललिता दोषी, चन्द्रप्रसाद भट्टराई, ज्ञानु अधिकारी नगद,सम्मानपत्रसहित सम्मानित हुनुभयो ।
त्यसै गरी समाजसेवी/लेखक लाक्पा फुटी शेर्पा, डा. देवी नेपाल, डा. शैलजा पोखरेल, जय छाङ्छा, गोविन्द गिरी ‘प्रेरणा’, सीता पाण्डे, विमला निरौला, मीनकुमार श्रेष्ठ, ‘नवोदीत’, ओम रिजाललगायतलाई सम्मानपत्र र नगदसहित सम्मान गरियो । कार्यक्रममा बालसाहित्यकारहरू सिर्जना धामी, उमिवा थापामगर र नीलिमा तामाङलाई नगद, सम्मानपत्रसहित वनिता बालसाहित्य सम्मान प्रदान गरियो ।
बुढानीलकण्ठ नगरपालिका–९ का वडाध्यक्ष समित्रा त्रिपाठीले साहित्य, कलाको प्रवर्धनका लागि वडाले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । गोरखापत्रका सहसम्पादक शरदराज सुवेदीले सम्मानप्रति वनिता त्रैमासिक परिवारप्रति कृतज्ञता ज्ञापन गर्दै आफ्ना साहित्यकार पिता दधिराज सुवेदीको कृतित्वको प्रवर्धन गर्न परिवारका तर्फबाट १५ लाखको अक्षयकोषको स्थापना गरी त्यसको ब्याजबाट देशका चर्चित विशिष्ट साहित्य साधकहरूलाई सम्मान गर्दै आएको बताउनुभयो । वनिता त्रैमासिकका अध्यक्ष लक्ष्मी उप्रेतीले वनिताका माध्यमबाट नेपाली सर्जकको सम्मान अभिनन्दन गर्ने अवसर मिलेको बताउनुभयो ।