• ६ वैशाख २०८२, शनिबार

संसदीय टोलीद्वारा कृषि क्षेत्रको अनुगमन

blog

बड्डाँडामा काँचो इँटाको भण्डारणगृहको निरीक्षण गर्दै संसदीय समितिको टोली ।

बिजुवार समाचारदाता

बिजुवार, वैशाख ६ गते  । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गतको संसदीय टोलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत प्युठानमा सञ्चालनमा रहेका बाली क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

समितिका सदस्य वीरबहादुर बलायरको नेतृत्वमा आएको टोलीले धान, तरकारी तथा  अदुवा–बेसार जोनको अवलोकन र सरोकारवालासँग संवाद गरेको परियोजना एकाइ प्रमुख चुमान गिरीले जानकारी दिनुभयो ।

टोलीले सरुमारानी वडा नं. ३ को सुजिनपुर र ४ बड्डाँडाको चार सय रोपनी क्षेत्रफलमा फैलिएको अदुवा–बेसार खेती, प्लास्टिक मल्चिङ, बिउ उपचार प्रणाली र काँचो इँटाको भण्डारणगृहको निरीक्षण गरेको थियो ।

यसै व्रmममा स्वर्गद्वारी–९ स्थित शुभेच्छा कृषि फार्ममा टोलीले थोपा सिँचाइ, काँव्रmाको उन्नत जातको परीक्षण खेती र व्यावसायिक तरकारी उत्पादनको अवस्थाबारे जानकारी लिएको थियो । 

यसै गरी प्युठान नगरपालिका–३ मा महिलाको अगुवाइमा सञ्चालित विजयनगर महिला कृषि सहकारीले उत्पादन गर्दै आएको सावित्री र चैते–५ जातका धान बिउ उत्पादनको निरीक्षण गरिएको थियो । सहकारीले अघिल्लो वर्ष ४० क्विन्टल बिउ बेचेको र यस वर्ष ६० क्विन्टल उत्पादन तयारी अवस्थामा रहेको जानकारी दिएको छ । त्यस्तै प्युठान नगरपालिका–७ मा सञ्चालित ईशान एग्रो फार्ममा ड्रागन फ्रुट, कुरिलो खेती, थोपा सिँचाइ प्रविधि र गँड्यौला मलको प्रयोगसम्बन्धी अध्ययन गरिएको छ ।

निरीक्षणका क्रममा कृषकले सिँचाइ, रासायनिक मलको अभाव, मूल्य र बजार पहुँचलगायत समस्या राख्दै लिज प्रक्रिया, कृषि बिमा र सहुलियत ऋण पहुँच सहज बनाउन आग्रह गरेका थिए । 

सांसद बलायरले परियोजनाको प्रभाव मूल्याङ्कन, समस्या बुझ्न र सम्भावना पहिचान गर्न अनुगमन गरिएको उल्लेख गर्दै संरचनागत समस्याको समाधान र नीतिगत सुधारका लागि राज्य गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । टोलीमा समितिका पदाधिकारी, सङ्घीय सांसद, कृषि प्राविधिक, परियोजना प्रतिनिधि र स्थानीय कृषकको उल्लेखनीय सहभागिता थियो ।