गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ६ गते । विगतमा आफूले दायर गरेको पाँच मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
पहिलो मुद्दामा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, विश्वनाथ पौडेल, भानुभक्त भट्टराई, हरिलाल खनाल, हेमा न्यौपाने, परशुराम खनाल, उमा श्रेष्ठ र महेन्द्रकुमार श्रेष्ठ भन्ने श्रीप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।
त्यस्तै दोस्रो मुद्दामा सुनसरीको तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारी, पुष्कर भट्टराई, रामप्रसाद श्रेष्ठ, आरके कन्स्ट्रक्सन र कृष्णबहादुर कटुवाललाई प्रतिवादी बनाएको छ । तेस्रो मुद्दामा कालीकोट जिल्लाको महाबु गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, रुद्रबहादुर वली, हरिप्रसाद पाण्डेय, गौकला सिंह, अकला सुनार, जर्मकला काफ्ले, दधि कामी, मलिम रावत र मनराज शाहीलाई प्रतिवादी बनाएको छ ।
चौथो मुद्दामा शैल्यशिखर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, सन्तोष पाण्डेय, राजेन्द्रसिंह धामी, दीपकसिंह विष्ट, जनकराज जोशी, धनञ्जय जोशी, जानकी बडू जोशीलाई प्रतिवादी बनाएको छ । पाँचौँ मुद्दामा ग्रामीण विकास लघुवित्त वित्तिय संस्था (साबिक मध्यमाञ्चल ग्रामीण विकास बैङ्क) का वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीलाई प्रतिवादी बनाएर पुनरावेदन गरेको हो । यी मुद्दामा विशेष अदालतबाट विभिन्न समयमा फैसला भएको थियो । आयोगले उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै बदर गरेर प्रतिवादीलाई आफूले दाबी गरे अनुसार सजाय तथा जरिबानाको माग गरिएको छ ।