• ६ वैशाख २०८२, शनिबार

नदीमा छाडिएका सबै गोही बाँच्दैनन्

blog

तस्बिर : शालिग्राम नेपाल राप्ती नदीमा छाड्न कसराको प्रजनन केन्द्रमा हुर्काइएका घडियाल गोही ।

शालिग्राम नेपाल

चितवन, वैशाख ५ गते  । वन्यजन्तु सप्ताहको अवसर पारेर प्रजनन केन्द्रमा हुर्काइएका घडियाल गोही चितवन राष्ट्रिय निकुञ्जले नदीमा छाडेको छ । निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काइएकामध्ये १५ वटा घडियाल गोहीका बच्चा निकुञ्जले राप्ती नदीमा छाडेको हो । 

हरेक वर्ष वन्यजन्तु सप्ताहको अवसरमा छाडिने गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । छोडिएकामध्ये दुई भाले र १३ वटा पोथी छन् ।  निकुञ्जले नौ महिना यता ११८ वटा गोही राप्ती नदीमा छाडिसकेको छ । विभिन्न अवसरमा प्रजनन केन्द्रबाट उमेर पुगेका गोहीका बच्चा नदीमा छाड्ने गरिन्छ । छाडिएकामध्ये तीन भाले र अन्य पोथी छन् । 

निकुञ्जले नदी किनारमा गोहीले पारेको अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याउने गर्छ । यसरी ल्याएको अन्डाबाट बच्चा कोरलेर हुर्काउने गर्छ । हुर्केपछि पुनः नदीमा नै छाड्दै आएको छ तर नदीमा छाडेकामध्ये सबै बाँच्ने र यही नदीमा भेटिने अवस्था भने नरहेको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । केही जालमा परेर मर्छन् भने केही राप्ती नदी हँुदै नारायणी नदीमा पुग्ने गर्छन् । यसरी नारायणी नदीमा पुगेको गोही बग्दै त्रिवेणीबाट भारतमा पुग्ने गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

निकुञ्जका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन् । गत आर्थिक वर्षमा १०५ वटा गोही नदीमा छाडिएको थियो । हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ७५ वटा गोही छाडिसकिएको छ ।

गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणीमा ११३ वटा गोही भेटिएका थिए । हाल प्रजनन केन्द्रमा ६८२ वटा गोही छन् । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यान्मारलगायत देशमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । पूर्वसहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले घडियाल गोहीको सबैभन्दा दुश्मन तियारी जाल रहेको बताउनुहुन्छ । 

माछा मार्नेले प्रयोग गर्ने तियारी जालमा परेर धेरै गोही मर्ने गर्दछन् । नदीमा माछा मार्न तियारी जाल लुकिछिपी प्रयोग गर्छन् । यसरी जाल प्रयोग गरेपछि त्यसैमा गोही अल्झने र मर्ने गर्दछ । यसरी घडियाल गोहीलाई आफ्नै वासस्थान नदीमा छाड्दासमेत आशा गरिए अनुसार वृद्धि हुन नसकेको उहाँले बताउनुभयो ।