काठमाडौँ, वैशाख ३ गते । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि हङकङले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाललाई जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य दिएको छ ।
मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनायो ।
हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गर्नुभयो । उहाँले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाउनुभएको हो । यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोड्नुभयो ।
बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिनुभयो । नेपाल आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।
यसअघि नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।