हुम्ला समाचारदाता
हुम्ला, वैशाख ३ गते । हिमाली जिल्ला हुम्लाबाट कर्णाली प्रदेश सरकारको आयोजना बैङ्कका लागि पाँच हजार योजना सिफारिस भएका छन् । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले निर्माण गर्ने योजना बैङ्कका लागि जिल्लाबाट सिफारिस भएर आएका योजनालाई मात्र कार्यान्वयन गर्ने भएपछि निर्धारित अनुसूची अनुसार जिल्लाका विषयगत कार्यालयमार्फत आएका र त्यसलाई जिल्लास्तरीय आयोजना सिफारिस समितिको बैठकले निर्णय गर्दै प्रदेश आयोजना बैङ्कमा सिफारिस गरेको हो ।
कर्णाली प्रदेश सरकारको आयोजना
बैङ्कका लागि जिल्लाबाट योजना सिफारिस गर्न जिल्लास्तरीय आयोजना सिफारिस समितिको बैठकले जिल्लाभरबाट प्रदेश सरकार अन्तर्गतका कार्यालयमा पेस हुन आएका पाँच हजार योजना प्रदेश आयोजना बैङ्कका लागि सिफारिस गर्ने निर्णय भएको समितिका संयोजक कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो । चार दिनसम्म कर्णाली प्रदेश आयोजना प्रस्ताव तथा छनोट प्रव्रिmयासम्बन्धी कार्यविधि २०८१ बमोजिम कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीको अध्यक्षतामा जिल्ला स्तरीय आयोजना सिफारिस समितिको बैठक बसेको थियो ।
जिल्ला स्तरीय आयोजना सिफारिस समितिको बैठकबाट कर्णाली प्रदेश सरकारका लागि आर्थिक वर्ष २०८२/८३ का लागि सेवाग्राही र स्थानीय तहमार्फत विषयगत कार्यालयमा सूचीकृत भएका आयोजनामध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सिँचाइ कार्यालय, सामाजिक विकास कार्यालय र स्वास्थ्य सेवा कार्यालयसम्बन्धी रहेका छन् । एउटै कार्यालयबाट एक हजार पाँच सय प्रस्ताव आएको उहाँले बताउनुभयो ।
हाल सिफारिस गरिएका योजना सबैलाई सिफारिस गरिएको र त्यसलाई प्राथमिकीकरण गर्ने काम पनि भएको छ । उहाँले जिल्लाबाट सिफारिस भएका योजनाबाटै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तर्जुमा गर्ने योजना पर्ने बताउँदै यसमा विभेद पनि नहुने बताउनुभयो । माग भएर आएका सबै योजना प्रस्तावना बैङ्कका लागि सिफारिस गरिएका कारण अब क्रमशः यी योजना आगामी वर्ष कार्यान्वय गर्न पनि सहज भएको शाहीले जनाउनुभयो ।
यसले गर्दा अब कर्णाली प्रदेश सरकारले आफ्नो बजेट तथा कार्यक्रममा यसअघि पहुँच, भनसुन र झ्यालबाट छिराउने प्रवृत्तिको अन्त्य भएको र तल्लो स्तरबाटै छनोट भएका योजनाले प्राथमिकता पाउने चङ्खेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयो । उहाँले पहिलो पटक तल्लो तहबाट माग गरिएका योजनाहरू प्रदेश सरकारले तर्जुमा गर्न लागेको आयोजना बैङ्कमा सिफारिस भएका कारण आवश्यकताका आधारमा योजना छनोट हुने बताउनुभयो ।
अहिले जसरी तयारी गरेर प्रदेशमा सिफारिस भएको छ, अब ती योजनाले मात्र कार्यान्वयन पाउने आधार तय भएको र त्यसलाई अब कार्यान्वय गरेर देखाउने समय आएको उहाँले बताउनुभयो । बैठकमा कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य रणसिंह परियार, कलबहादुर हमाल, सात वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र विषयगत कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो । प्रदेश सरकार अन्तर्गत जिल्लामा दस वटा कार्यालय रहेका छन् ।