• ३ वैशाख २०८२, बुधबार

प्रहरी चौकीको अवस्था,मसानघाटको सत्तलदेखि जीर्ण घरसम्म

blog

तस्बिर : अर्जुन कार्की कालीगण्डकी नदीको किनारमा रहेको मालढुङ्गा प्रहरी चौकी ।

काठेखोला समाचारदाता 

बागलुङ, वैशाख ३ गते  । बागलुङ र पर्वतलाई दुई विन्दुमा पारेर कल कल बगिरहेको कालीगण्डकी, कालीगण्डकीको बागलुङतर्फको छेउमा छ वरिपरि पुराना जस्तापाताले बेरिएको र माथि ढलान गरिएको सानो सत्तल छ । एक वर्षअघि वरिपरि टिनले नबेरिएको सत्तल मलामीहरूको प्रतिक्षालय थियो । त्यो सत्तलको माथिल्लो भागमा बागलुङ प्रवेशद्वारको प्रहरी चौकी मालढुङ्गा रहेको छ । बागलुङ जिल्ला प्रवेश गर्ने मुख्य प्रवेशद्वार बागलुङ नगरपालिका वडा नं. १ मालढुङ्गामा रहेको उक्त सत्तल अहिले प्रवेशद्वारको सुरक्षा गर्ने सुरक्षाकर्मीको आवास बनेको छ ।

केही समय पहिले प्रवेशद्वारको छेउमा रहेको जीर्ण छाप्रोमा सुरक्षाकर्मी बस्दै आएका थिए । उक्त चौकी १५ मिटर भित्रसम्म सडक खाली गर्ने भनी भत्काइएपछि प्रहरीहरू कालीगण्डकी किनाराको खुदर्के मसानघाटको सत्तलमा आश्रय लिएर बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । कँडेलले भन्नुभयो, “पहिले पनि चौकी जीर्ण अवस्थामा थियो । सडकछेउमा भएकाले भत्काइएको हो । यसअघि पनि अस्थायी छाप्रोमा उचित बसोवासको व्यवस्था नहुँदा प्रहरी भुईंमा सुत्न बाध्य थिए ।”

जनताको सुरक्षामा खटिएका प्रहरी एक वर्षदेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गा चेकपोस्टमा खटिएका १० जना प्रहरी र एक जना ट्राफिक प्रहरीको रात अहिले मसानघाटको सत्तलमा बित्ने गरेको छ । चेकपोस्टमा खटिएका एक जना ट्राफिकले छुट्टै कोठा भाडामा लिएर बसेका छन् । जिल्लाको मुख्य नाकाका रूपमा रहेको मालढुङ्गा सुरक्षाको हिसाबले निकै संवेदनशील क्षेत्र हो तर उक्त क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरीको चौकीको अवस्था निकै दयनीय छ । राष्ट्रिय गौरवका दुई आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरमा मालढुङ्गा पर्छ । प्रवेशद्वारबाट कालीगण्डकी कोरिडोर हुँदै गुल्मी, बुटवलबाट र मध्यपहाडी लोकमार्गबाट काठमाडौँ, पोखरा, पर्वत हुँदै दैनिक सयौँ सवारी बागलुङ प्रवेश गरी म्याग्दी, मुस्ताङ र पश्चिम नेपालको रुकुम, जाजरकोटसहित विभिन्न जिल्लामा सवारीसाधन गुड्ने गर्छन् ।

सत्तलछेउमै दाहसंस्कार गर्ने मसानघाट रहेकाले दैनिक सव जलाउन ल्याउने हुँदा मलामी घर नफर्किंदासम्म चौकीमा खाना नपाक्ने प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले बताउनुभयो । चौकी प्रमुख गुरुङले मसानघाटमा आवास भएका कारण रातिमा उठ्न डर लाग्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मलाई भूतप्रेतको विश्वास लाग्दैन तर रातिमा शौचालय जान डर लाग्छ ।” 

२०६३ पुसमा स्थापना भएको उक्त प्रहरी चौकी हाल बागलुङ भगवती गुठीको जग्गामा छ । प्रहरी प्रमुख कँडेलले प्रवेशद्वारमा सार्वजनिक जग्गा नभएको र कालिका भगवती गुठी र लक्ष्मीनारायण गुठीको जग्गा भएकाले प्रहरीको नाममा ल्याउन गाह्रो भएको बताउनुभयो । उहाँले गुठीसँग सल्लाह गरेर प्रवेशद्वारको दायाँ भागमा चौकी बनाउने सहमति भएको बताउनुभयो । प्रहरी चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने भन्दै जग्गा व्यवस्थापन र भवनका लागि पहल भइरहेको प्रहरी प्रमुख कँडेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बागलुङ नगरपालिकाले पनि १० लाख रुपियाँ विनियोजन गरेको छ । उक्त रकमबाट लक्ष्मीनारायण गुठीले भवन बनाएर प्रहरीलाई भोगचलनका लागि दिने कुरा भएको छ ।” बागलुङ प्रवेशको मालढुङ्गा पुलको आडमै प्रहरी चौकी भवन बनाउने तयारी गरिएको छ ।

त्यसै गरी बागलुङको निसीखोला गाउँपालिका–५ मा रहेको निसी प्रहरी चौकीको अवस्था पनि दयनीय नै छ । निसीखोला किनार छेउमै दुईतले ढुङ्गा माटोले बनाएको जीर्ण घरमा रहेको चौकी धेरै वर्ष पुरानो भवनबाट सञ्चालित छ । प्रहरी चौकी निसीका प्रमुख प्रहरी सहायक निरीक्षक रोलक थापाले भन्नुभयो, “हामी पञ्चायत कालमै बनेको बचत घरमा बसेर सेवा प्रवाह गरेका छौँ । त्यो समयमा बनेका घर अहिले कतै छैनन् । हामीले लिपपोत र टालटुल गरेर बसेका कारणले यो घर संरक्षण भएको हो ।” प्रहरी चौकी निसीमा सात जना प्रहरी बस्दै आएका छन् । जीर्ण घरमा अहिले प्रहरीले त्रिपालले ढाकेर बस्दै आएका छन् । चौकी प्रमुख थापाले पानी चुहिने हुँदा बर्सात्को समयमा रातभर जाग्राम बस्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “घर निकै जीर्ण छ । पानी चुहिने हुँदा हामी त्रिपाल हालेर बसेका छौँ ।  चौकी खोला छेउमा छ । बर्सात हुँदा खोलामा भेल आउने डर र माथिबाट पानी चुहिने भएकाले रातभर सुत्न सकिने अवस्था छैन ।” हिउँदको समयमा समस्या नभए पनि बर्खामा ज्यानै जोखिममा पर्ने खतरा रहेको उहाँको भनाइ छ ।

प्रहरी प्रमुख कँडेलले निसी चौकीलाई नयाँ घरमा सार्न प्रव्रिmया अगाडि बढाएको बताउनुभयो । उहाँले अहिले जीर्ण घरबाट सञ्चालन भएकाले नयाँ घरको खोजी गरेर सार्नका लागि प्रदेश र प्रहरी हेड क्वाटरबाट अनुमतिका लागि प्रव्रिmया अगाडि बढाएको जानकारी दिनुभयो । 

निसी चौकीका प्रमुख थापाले दुई किलोमिटर पश्चिममा भाडाका लागि घर व्यवस्थापन हुँदै गरेको बताउनुभयो । नागरिकको सुरक्षामा खटिने प्रहरी नै असुरक्षित घरमा बस्दै आएका छन् । जीर्ण भवनमा बस्दा कति बेला के घटना हुने हो भन्ने जोखिम रहेको निसी प्रहरी चौकीका प्रमुख थापाले बताउनुभयो ।

जग्गा छ, भवन छैन 

जिल्ला प्रहरी मातहत जिल्लाभर २८ स्थानमा प्रहरी चौकी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये १३ चौकीको आफ्नै जग्गा र भवन छभने आठ वटाको जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन । सात चौकीको जग्गा र भवन केही नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । उहाँले आफ्नै भवन नभएका केही चौकी सरकारी कार्यालयबाट सञ्चालन भए पनि नौ वटा चौकी भाडाबाट सञ्चालित रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङले भाडाबाट सञ्चालन हुँदै आएका चौकीको मासिक ९४ हजार रुपियाँ भाडा बुझाउँदै आएको छ ।

यादवका अनुसार आफ्नै भवन र भाडामा रहेका केही चौकी जीर्ण घरमा रहेकाले जोखिममा रहेर सुरक्षा दिइरहेका छन् । जिल्ला कार्यालयमा खटिने प्रहरीका लागि आवास घर निर्माणाधीन अवस्थामा रहेको डिएसपी यादवले बताउनुभयो ।