रमेश विश्वकर्मा
गुल्मी, वैशाख ३ गते । गुल्मीको तम्घासमा हुन लागेको दोस्रो गुल्मीको महोत्सवको तयारीलाई निकै तीव्रताका साथ अगाडि बढाइएको छ । ‘गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि पर्यटन र व्यापार’ भन्ने मूल नारासहित गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा यहि वैशाख ५ देखि १७ गतेसम्म तम्घासस्थित नुनथलामा सञ्चालन गर्न लागिएको हो ।
महोत्सव सफल बनाउन विभिन्न २९ वटा उपसमिति गरिएको छ । उपसमितिले महोत्सव लक्ष्यित गतिविधिलाई निकै तीव्र रूपमा अगाडि बढाएका छन् । महोत्सव सञ्चालन स्थलमा अहिले स्टल निर्माण, डुङ्गा, रेल, पिङलगायतका मनोरञ्जनात्मक खेलहरू सञ्चालनका लागि सामग्री जडानसहित विभिन्न कार्यहरू भइरहेको आयोजकले जनाएको छ ।
जिल्लाको शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउका लागि महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो । १३ दिनसम्म सञ्चालन हुने महोत्सवलाई झण्डै डेढ लाख मानिसले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मेलामा ३०० वटा स्टल रहने र सबै स्टलहरू बुकिङ भइसकेको बताइएको छ । महोत्सवमा स्थानीय व्यापारीहरूलाई प्रोत्साहन गर्न भन्दै ३० प्रतिशत छुटमा स्टल दिइएको छ ।
महोत्सवमा टिकट शुल्क १०० निर्धारण गरिएको छ । जसमा विद्यार्थीलाई ५० रुपियाँ र ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । स्थानीय फेन्सी व्यवसायीहरूलाई पाँच वटा स्टल निःशुल्क र २० वटा स्टलहरू स्थानीय व्यवसायीहरूलाई प्रोत्साहनका लागि ८० प्रतिशत शहुलियत छुटमा उपलब्ध गराइने उहाँले बताउनुभयो ।
महोत्सवमा एक सयभन्दा बढी स्थानीयदेखि राष्ट्रिय कलाकार सम्मको दिनहुँ प्रस्तुति रहने महासचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो । सांस्कृतिक कार्यक्रममा नेपालका ख्याति प्राप्त हाँस्यव्यङ्ग्यसहित विभिन्न विधाका एक सयभन्दा बढी कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।