गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ३ गते । चालुु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालुु आवको साउनदेखि चैतसम्म ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो ।
गत वर्ष सो अवधिमा घरजग्गाको करोबारबाट ३० अर्ब ३४ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । गत वर्षको तुुलनामा तीन अर्ब १२ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ । घरजग्गाको कारोबारमा सुधार आएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको हो ।
विभागका अनुसार घरजग्गाको कारोबारबाट सबैभन्दा धेरै चैतमा चार अर्ब ३९ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चैतमा ४९ हजार ८३२ सङ्ख्यामा भएको घरजग्गाको कारोबारबाट राजस्व सङ्कलन भएको हो ।
गत फागुुनसम्म चार अर्ब १२ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । घरजग्गाको कारोबारबाट फागुुनको तुलनामा चैतमा २७ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागले जनाएको छ । गत फागुनमा ४६ हजार ६१ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । चैतमा घरजग्गाको कारोबार बढेसँगै राजस्व सङ्कलनमा समेत सामान्य सुधार आएको तथ्याङ्कले देखाएको छ ।
यस्तै साउनमा तीन अर्ब ८३ करोड, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड र सबैभन्दा कम राजस्व गत कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार रुपियाँ सङ्कलन भएको थियो । मङ्सिरमा तीन अर्ब ८७ करोड, पुुसमा चार अर्ब २५ करोड, माघमा तीन अर्ब ८७ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने विभागले जनाएको छ ।