• ३ वैशाख २०८२, बुधबार

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

blog

राष्ट्रपति रामचन्द्र पौडेल सहकारी समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँग छलफल गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, वैशाख २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुङ्गो लगाउन निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भएर लाग्न निर्देशन दिनुभएको थियो । 

सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई सङ्कटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र तीन वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराउनुभएको थियो । लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन् ।