• २ वैशाख २०८२, मङ्गलबार

कोरिडोर बनेपछि यात्रा सहज

blog

तस्बिर : तिलाचन पाण्डे निर्माणाधीन कालीगण्डकी कोरिडोर ।

तम्घास समाचारदाता

तम्घास, वैशाख, १ गते । गुल्मीकोे कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घास जानका लागि तीन जिल्ला पार गरेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । 

पहिले कालीगण्डकीबाट स्याङ्जाको मिर्मी हुँदै गल्याङ, पाल्पाको बर्तुङ र रिडी हुँदै तम्घास जानुपर्ने बाध्यता थियो । सदरमुकाम पुगेर कुनै काम गर्नका लागि कम्तीमा तीन दिनको समय मिलाउनु पथ्र्यो । अहिले कालीगण्डकी कोरिडोर खुलेपछि उक्त समस्याको अन्त्य भएको हो ।

कालीगण्डकी गाउँपालिकाबाट निजी सवारीसाधनमा तीन घण्टामै सदरमुकाम तम्घास पुग्न सकिने स्थानीय विष्णुप्रसाद पाण्डेले बताउनुभयो । बिहान घरबाट मोटरसाइकल चलाएर कार्यालय समय सुरु हुँदा तम्घास पुगिने र सहजै काम सक्याएर साँझ घर फर्किन सकिने उहाँको भनाइ छ । कोरिडोरले गर्दा तीन दिनको समय केही घण्टामै सहज बनाइदिएको पाण्डेले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिका–३ का सवारीचालक ईश्वरी विकले बिहानै गाउँबाट नागरिकता, राहदानीलगायतका कामका लागि सेवाग्राही लिएर जाने र काम सकाएर साँझ सहजै घर आउने गरेको अनुभव सुनाउनुभयो । पहिले स्याङ्जा, पाल्पा हुँदै गुल्मी सदरमुकाम तम्घास जानुपर्ने अवस्थाको झन्झटबाट मुक्त हुँदा समय र पैसा दुवैको बचत भएको उहाँले बताउनुभयो । अहिले कालीगण्डकी कोरिडोरको अर्बेनी, हर्मीचौर, रुद्रबेनी रिडी हुँदै सदरमुकाम गएर कार्यालयको काम सम्पन्न गरी १ बजे नै आफू घर आएको अर्बेनीका लक्ष्मीपति न्यौपानेले सुनाउनुभयो । 

कोरिडोरका कारण यस क्षेत्रका कृषक पनि व्यवसायी बन्दै गएका छन् । उत्पादित कृषि उपज सहजै स्याङ्जा, पाल्पा र बुटवलसम्म पु¥याउन सकिने भएकाले बजारको पनि समस्या नभएको कृषकको भनाइ छ । कोरिडोरले गर्दा विकटलाई निकट बनाएको न्यौपानेले बताउनुभयो । चट्टानसहितको भिर चार वर्षपहिले नेपाली सेनाले बम विस्फोट गरी खोलेको ट्र्याकमा अहिले कालोपत्रेको काम भइरहेको छ । 

रिडी–हर्मीचौर सडकखण्डको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र हस्तान्तरणको कार्य बाँकी रहेको कालीगण्डकी कोरिडोर गौँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो । ६२ करोड ३६ लाख रुपियाँको लागतमा २०७७ भदौ १४ गते सम्झौता भई २०८१ साउनमा सम्पन्न गर्ने गरी शर्मा सगुन जेभीले उक्त कार्य गरेको खत्रीले बताउनुभयो ।

यस्तै हर्मीचौर–बलेवा खण्डको ४५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने कार्य कालिका कन्स्ट्रक्सनले गरेको छ । कुल तीन अर्ब ३३ करोड रुपियाँको लागतमा सम्पन्न हुने उक्त सडकको ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको र चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने कार्य सम्पन्न हुने खत्रीले बताउनुभयो । कार्यालय र निर्माण व्यवसायीबिच २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ । निर्माण व्यवसायीले तोकिएको समयावधिभन्दापहिले नै निर्माण कार्य सम्पन्न गर्ने कार्यालयले जनाएको छ ।