• २ वैशाख २०८२, मङ्गलबार

टी–२० सिरिजको फाइनलमा चुक्यो नेपाल : कुवेत तीन रनले विजयी

blog

फाइनलमा कुवेतसँग पराजित भएको नेपाली टिम । तस्बिरः क्यान

काठमाडौँ, चैत ३१ गते। हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो। 

नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले  ४३ बलमा ८० रन बनाउनुभयो। १९ औं ओभरमा एउटा नो बलमा छक्का प्रहार गरेर दुई डट बल खेल्नुभएका अहमद तेस्रो बलमा आउट हुनुभएको हो। बसिरको विकेट लिएसँगै कुवेतले नेपाललाई १९.३ ओभरमा अलआउट गरेको हो। नेपालका लागि नन्दन यादवले १४ बलमा ३७ रन बनाउनुभयो भने आशिफ शेखले ११ बलमा २१ रन जोड्नुभयो। अन्य ब्याट्सम्यानले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। 

नेपालको ब्याटिङ लाइनविरुद्ध कुवेतका अनुदीप चेन्थमाराले तीन विकेट हात पार्दा यासिन पटेल र नवीनराज राजेन्द्रनले दुई दुई विकेट हात पार्नुभयो।

 टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन जोड्नभयो । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाउँदा अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् । 

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकएक विकेट लिनुभयो ।

यसअघिका तीन खेलमा अपराजित नेपाल फाइनलमा चुकेको हो। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। हङकङसँग भएको तेस्रो खेल वर्षाले अवरुद्ध भएपछि अङ्क बाँडेको नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो। 


कुवेत, नेपाल, हङकङ र कतार सहभागी सिरिजमा नेपाल दोस्रो भएको छ। आयोजक हङकङ तेस्रो भएको छ। आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा कतार हङकङसँग एक रनले पराजित भएको हो। हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले पाँच विकेटको क्षतिमा १८७ रन बनाएको थियो।