• १ वैशाख २०८२, सोमबार

कवल्टा विमानस्थलकाे सम्भाव्यता अध्ययन

blog

कवल्टा विमानस्थलको स्थलगत सम्भाव्यता अध्ययन गर्दै । तस्बिर : रामबहादुर विक

रामबहादुर विक 

मार्तडी,(बाजुरा) चैत ३१ गते । बाजुराको बडीमालिका नगरपालिका-९ मा पर्ने कवल्टा क्षेत्रको विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको समन्वयमा कवल्टा क्षेत्रमा विमानस्थलका लागी सम्भाव्यता अध्ययन गर्न सुदुरप्रश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाही, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, कांग्रेस बाजुराका उपसभापती पदम बडुवाल, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम माझी र नेपाल नागरिक उड्डयन प्राविधकरणका इन्जिनियर कविन्द्र कर्माचार्य लगायतको टोली उक्त क्षेत्रमा पुग्नुभएको हो ।

तत्कालिन बडीमालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख पदम बडुवाले सम्भाव्यता अध्ययनका लागि पालिकाको निती तथा कार्यक्रममा राख्नुभएको थियो भने तत्कालिन सुदूरप्रश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले समेत यहाँको सम्भाव्यता अध्ययन गर्नुभएको थियो ।  

विगत लामो समयदेखि स्थलगत सम्भाव्यता अध्ययन गरिँदै आएको कवल्टा विमानस्थलको सम्भाव्यता गर्दा विमानस्थलका लागी उपयुक्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर कविन्द्र कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार विमानस्थलका लागी करिब आठ सय मिटर उपयुक्त हुन्छ ,तर उक्त क्षेत्रको लम्बाइ तेती नभए पनि उपयुक्त रहेकोे छ । 

उहाँले भन्नुभयो, "कवल्टाको स्थलगत सम्भाव्यता अध्ययन गर्दैगर्दा कवल्टामा विमानस्थल बन्न सक्ने अनुमान गरिएको छ । यहाँको भौगोलिक क्षेत्रको प्राविधिक चेकजाँच गर्दा यहाँको लम्बाइ करिब ६ सय मिटर रहेको छ ।" करिब विमानस्थलका लागी यसको लम्बाइ,चौडाई पुग्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्राविधिक इन्जिनियर कविन्द्र कर्माचार्यसँगै सदुरपश्चिम प्रदेश सभा सदस्य तथा शाहीले स्थलगत सम्भाव्यता अध्ययनमा कवल्टा पुग्नुभयो । उहाँका अनुसार यसको औपचारिक रूपमा सर्वेक्षण भएको छ। 

बाजुराको तल्लो क्षेत्रका नागरिकहरूका लागि कवल्टामा विमानस्थलको अति आवश्यकता भएको हुँदा यसको पहलमा लाग्ने बताउनुभयो । कवल्टामा विमानस्थल बनाउन सकियो भने बाजुरामा पर्यटन भित्याउन सकिने उहाँको भनाइ छ । सदरमुकाम मार्तडीबाट बडीमालिका, खप्तड, नाटेश्वरी बुढीनन्दा लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा जानका लागी दूरी छोटो पर्ने भएका कारण बडीमालिकाको कवल्टामा विमानस्थल अतिआवश्यक रहेको उहाँले बताउनुभयाे । 

बाजुराको भौगौलिक विकटता र यहाँका नागरिकको माग अनुसार कवल्टामा विमानस्थल बने यहाँबाट धनगढी,काठमाडौँ, नेपालगन्ज सम्म हवाई यात्रा गर्न सजिलो हुने विश्वास उहाँले गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार कवल्टा क्षेत्रको प्रत्यक्ष स्थलगत अनुगमन गर्नुभयो । बडीमालिका जननीमाताको नजिक र यहाँ सदरमुकाम मार्तडीबाट दुई घण्टामा बडीमालिका मन्दिर जान सकिने भएका कारण कवल्टामा विमानस्थल बन्नुपर्ने प्रजिअ पाध्याले भन्नुभयो । 

यसले गर्दा आन्तरिक तथा बाह्र पर्यटकहरूलाई बढवा दिन सकिने उहाँको भनाइ छ । अथाह धार्मिक तथा पर्यटकिय गन्तव्य बोकेको बाजुरा जिल्लालाई बडीमालिका धार्मिक तथा पर्यटकिय हवाई मार्ग बनाउन सकिने उहाँको भनाइ छ ।

बडीमालिका नगरपालिका–९ मा पर्ने कवल्टामा विमानस्थल भए बाजुराको क्षेत्र नं २ का नागरिकलाई सजिलो हुने नेपाली कांग्रेस बाजुराका उपसभापती पदम बडुवालले बताउनुभयो । बडीमालिका नगरपालिको नगर प्रमुख हुँदै गर्दा आफुले कवल्टा विमानस्थललाई निती तथा कार्यक्रम राखेको बताउनुभयो । यसको पहलकदमीका लागी सङ्घ,प्रदेश सरकारसँग समन्वय गर्दै आएको बताउनुभयो । 

जिल्ला अस्पताल र सदरमुकाम मार्तडी समेत कवल्टा क्षेत्रसँगै जोडिएको हुँदा यहाँ विमानस्थलको आवश्यकता छ । संस्कृती पर्यटन तथा नागरिक उड्डेयन मन्त्री बद्री पाण्डेको समन्वयमा कवल्टा क्षेत्रमा विमानस्थलका लागी सम्भाव्यता अध्ययन प्राविधिक टोली कवल्टा क्षेत्रमा गएको पुगेको हो । बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले कवल्टा क्षेत्रमा विमानस्थल बने यहाँको पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताउनुभयो ।

कवल्टामा विमानस्थल निर्माण भए यहाँका नागरिकहरू नै सेवा पाउने बडीमालिका नगरपालिका–९ का स्थानीय लोकेन्द्र बहादुर हमालले बताउनभयो । उहाँका अनुसार कवल्टामा विमानस्थल निर्माण भएपछी यहाँका स्थानिय नागरिकहरूको आम्दानी स्रोत बढ्नुका साथै अतिआवश्यक बिरामीहरूलाई हवाई मार्फत बाहिर अस्पतालमा लिन समेत सजिलो हुने उहाँले बताउनुभयो । कवल्टा विमानस्थलको स्थलगत सम्भाव्यता अध्ययन हुँदै गर्दा असाध्यै उत्साहित भएको सोही वडाका स्थानिय दिर्घराज पाध्यायले बताउनुभयो । 

कवल्टा विमानस्थलका बारेमा सबैको चासोको विषय बनेका कारण यहाँको सम्भाव्यता अध्ययन मात्र नभएर तत्काल यसको मापदण्ड अनुसार काम अगाडी बढाउनुपर्ने स्थानीयहरूको माग छ ।