वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, चैत ३१ गते । थारू समुदायमा प्रचलित परम्परागत हस्तकला सिपको संरक्षण गर्न महिलालाई सिप सिकाउन थालिएको छ । हस्तकलाका सामग्री हराउँदै जान थालेपछि थारू महिलालाई संस्कृतिक पहिचान र आत्मनिर्भर बनाउन थारू हस्तकलाका सामग्री बनाउने सिप सिकाउन थालिएको हो ।
थारू हस्ताकलाको संरक्षण गर्न वराहक्षेत्र नगरपालिकाले महिलालाई १५ दिने हस्तकला तालिम सिकाउन सुरु गरेको हो । नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने थारू हस्तकला सिप सिकाउन थालिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
गृहिणी महिलालाई स्वरोजगार बनाई आयआर्जनसँग जोड्न र सामाजिक रूपान्तरणसिहत जीविकोपार्जनमा टेवा पुर्याउनका लागि १५ दिने तालिम सुरु गरिएको थारू कल्याणकारिणी सभा वराहक्षेत्र नगर सचिव देवकुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परादेखि थारू समुदायले बनाउँदै आएको हस्तकलाका सामग्री हराउन थाले पनि थारू संस्कृतिसँग जोडिएको हस्तकला सिपलाई संरक्षण गर्न युवापुस्तामा सिकाउन सुरु गरेका छौँ ।”
पछिल्लो पुस्तामा सिप हस्तान्तरण गर्न र हराउँदै जान थालेको हस्ताकला सिप संरक्षण र संवर्धनका लागि महिलालाई सिप सिकाउन थालिएको थारू कल्याणकारिणी सभा वराहक्षेत्र नगर सचिव चौधरीले बताउनुहुन्छ । प्रविधिको विकाससँगै थारू समुदायले दैनिक प्रयोगमा ल्याउने गरेका हस्तकलाका सामग्री विस्थापित हुँदै जान थालेपछि प्रयोगात्मक रूपमै तालिम दिन थालिएको जनाइएको छ ।
थारू कल्याणकारिणी सभा वराहक्षेत्र नगर समितिले नगरपालिकाको आर्थिक सहयोगमा ५५ जना महिलालाई परम्परागत थारू हस्तकलाका सामाग्री बनाउन सिकाउन उद्यमशीलतामा जोड्ने उद्देश्यले तालिम सुरु गरेको बताइएको राखेको जनाएको छ । तालिममा सहभागीले महिलाले मना, धमा, ढकिया, धमनी घरको पूजाकोठामा राख्ने सामग्री र खाद्यवस्तु राख्ने भाँडाकुँडा आकार भएको सामग्री बनाउन सिक्ने वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।
स्थानीय वनजङ्गल, नदीनालामा पाइने घाँस, सिव्रmी, गवहा र उनबाट उनेर बनाउन सिकाइने सामग्रीको बजार मागसमेत बढ्दो छ । धार्मिक कार्यमा प्रयोग गरिँदै आएको धमा, मना, ढकिया, गुन्द्री, पिरा, धमनी जस्ता हस्तकलाका सामग्री स्थानीय स्रोतसाधनबाट बनाइने हुनाले हस्तकला सामग्री पर्यावरणमैत्री मानिन्छ ।
थारू समुदायमा हस्तकलाका सामग्रीलाई मायाको चिनोका साथै धार्मिक कार्यमा र सजावटका लागि कोठामा राख्न प्रयोग गरिने स्थानीय रामनारायण चौधरी बताउनुहुन्छ । यस्ता सामग्रीमा फलफूल तथा खानेकुरा राखेर खानाले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइएको छ ।