गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), चैत ३१ गते । कुनै समयमा बर्दिया जिल्लालाई पन्टुन पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५६ सालदेखि २०७० सम्म १४ वर्ष बर्दियाको राजापुर क्षेत्रलाई वारपार गराउन गेरुवा नदीमा राखिएको पन्टुन पुल अहिले व्यवस्थापन नहुँदा ११ वर्षदेखि अलपत्र परेको छ ।
बर्दिया जिल्लाको गेरुवा कर्णाली नदीको कोठियाघाटमा २०७० सालमा पक्की पुल सञ्चालनमा आएपछि पानीमा तैरिने पन्टुन पुल अलपत्र परेको हो । कात्तिक महिनादेखि जेठ महिनासम्म सानाठुला यात्रुवाहक र मालवाहक सवारीसाधन आवागमन गर्न प्रयोग गरिएको थियो । पानीमाथि तैरिएर रहने भए पनि पन्टुन पुलको २० टनसम्म भारवहन क्षमता रहेको थियो । बर्सातमा भने बाढीको जोखिम भएको हुनाले स्टिमरको सहायताले जोखिमपूर्ण यात्रा गर्न राजापुरवासी बाध्य थिए तर पन्टुन पुल भएकै कारण कात्तिकदेखि गेरुवा नदीमा पानीको सतह नबढ्दासम्म राजापुरवासीले सहजै यात्रा गर्न पाउँथे । खाद्यान्नको भण्डार भनेर चिनिने राजापुरमा पन्टुन पुल सञ्चालन भएपछि मात्र खाद्यान्न बाहिरिने गर्दथ्यो ।
कुनै समयमा राजापुरको वरदान भएको पुल जीर्ण बन्दै गएको हेर्न बाध्य भएको राजापुर नगरपालिका–६ का चन्द्रेश्वर सुवेदीले बताउनुभयो । राज्यले गरेको बेवास्ताका कारण पन्टुन पुल अहिले जीर्ण बन्दै गएको उहाँले गुनासो गर्नुभयो । राजापुर जस्तै पुल नबन्दा दुःख पाएको स्थानमा पुललाई लगेर सदुपयोग गर्नुपर्ने राजापुर नगरपालिका–६, मानपुरकी शिवा थारूले बताउनुभयो । एसियाली विकास बैङ्कको छ करोड ९३ लाख १८ हजार रुपियाँ ऋण सहयोगमा चिनियाँ प्रविधिमा निर्मित पन्टुन पुल सञ्चालनमा रहेको थियो । पुलमा ३३ ड्रम भए पनि तीन वटा ड्रम बाढीमा बगेर हाल ३० वटा ड्रम मात्र बाँकी रहेका छन् ।
राजापुर सिँचाइ आयोजनाले सिँचाइको कामकै सिलसिलामा जडान गरेको पुल सुरुमा राजापुर सिँचाइ आयोजना, स्थानीय जल उपभोक्ता समिति र जिल्ला विकास समितिले संयुक्त रूपमा सञ्चालन गर्दै आएका थिए । पुल सञ्चालन ठेक्का लगाई जिल्ला विकास समितिले आम्दानीसमेत गरेको थियो । पुलको रेखदेखको काम राजापुर सिँचाइ आयोजनाले कर्मचारी खटाएर गरे पनि मर्मतसम्भारको काम भने कुनै पनि निकायले गरेको पाइँदैन । पन्टुन पुल सञ्चालन हुँदासम्म पुलको नियमित रेखदेख गरिन्थ्यो । पुल बन्द भएपछि त्यसको मर्मतसम्भार नहुँदा पुलमा खिया लागेर जीर्ण हुने व्रmम बढ्दै गएको छ । पुलका ड्रम खियाले गर्दा प्वाल पर्न थालेका छन् । हाल पुललाई कोठियाघाट नदी किनारमा राखिएको छ । राजापुर सिँचाइ आयोजनाका आयोजना प्रमुख रामकृष्ण घोडासैनीले पन्टुन पुल आफूहरूको टाउको दुखाइ भएको बताउनुभयो । पुलको व्यवस्थापन वा लिलामी प्रव्रिmयाका लागि विभागमा पटक पटक पत्र पठाउँदासमेत सुनुवाइ नभएको उहाँको भनाइ छ ।