• १ वैशाख २०८२, सोमबार

बालाजुमा बाइसधारा मेला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३१ गते   । काठमाडौँ महानगरपालिका–१६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा मेला सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष आयोजना गरिने यो मेला हिन्दु र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र बनेको छ ।

शनिबार बिहानैदेखि स्नान गर्न र पूजाअर्चनाका लागि भक्तजनको भिड लागेको छ । बाइसधाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ । विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।

बालाजु बाइसधारा धार्मिक महìवका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महìवपूर्ण स्थल हो । यस मन्दिर परिसरमा बुद्धका मूर्ति, प्राचीन स्तम्भ, जल कुण्ड र हरियालीले पर्यटकलाई आकर्षित गर्छ । मेलाको समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थी साथै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ ।

वडा नं. १६ का अध्यक्षसहित स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा मेलाको व्यवस्थापन गरिएको छ । मेलाको सफल व्यवस्थापनका लागि स्वयंसेवक टोली, स्वास्थ्य सहायता कक्ष र ट्राफिक व्यवस्थापनसम्बन्धी तयारी पूरा गरिएको वडाले जनाएको छ । यस अवधिमा धार्मिक व्रिmयाकलाप, सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिएको छ । यस दिनलाई नेवारहरू ल्हुतिपुन्हीका रूपमा मनाउने गर्छन् । यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजाअर्चना गर्दा बढी फलिफाप हुने विश्वास रहिआएको छ । त्यस्तै यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुनेजनविश्वास रहिआएको छ । 

नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । विसं १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठुलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहनगएको हो भन्ने इतिहासमा उल्लेख छ ।