ललित बसेल
रानीघाट (सुर्खेत), चैत ३१ गते । कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको बर्दिया जोड्ने भुरीगाउँ तेलपानी सडकमा पर्ने रानीघाटको भेरी नदीमाथिको पुल १२ वर्ष बित्दासमेत बन्न सकेको छैन । पुलको डिजाइनमा केही प्राविधिक त्रुटि भएको र ठेकेदारले अदालतमा हालेको मुद्दाको किनारा नलाग्दा सो पुल १२ वर्षसम्म पनि अलपत्र परेको हो ।
२०६९ असार २९ गते पप्पु मल्ल जेभीसँग ४३ महिना अर्थात् २०७२ पुस २९ गतेभित्र सक्ने गरी सो पुलको निर्माण सम्झौता भएको थियो । त्यसबेलाको लागत १४ करोड २९ लाख ८९ हजार रुपियाँ रहेको थियो । निर्माण कम्पनीले काम पनि सुरुवात ग-यो ।
भेरी नदीमा दुई वटा पिल्लर राख्ने कामको सुरुवात पनि भयो तर बिचको पिल्लरको डिजाइनमा त्रुटि भएर केही बाङ्गिएपछि पुल निर्माणको काम रोकियो । डिजाइनमा प्राविधिक गल्ती भएपछि निर्माण कम्पनीले अदालतमा मुद्दा हालेको छ । पुल निर्माण हेर्ने सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार अदालतमा मुद्दा परेको र नटुङ्गिएकोले पुलको काम हुन सकेको छैन ।
कार्यालयका इन्जिनियर बर्खबहादुर शाहीका अनुसार निर्माण कम्पनीले चार करोड ३८ लाख २२ हजार ९८३ रुपियाँ पेस्की लगिसकेको छ । निर्माण कम्पनीले काम अलपत्र पारेपछि कार्यालयले २०७९ असार २० गते ठेक्का सम्झौता तोडेको थियो । सो व्रmममा ८९ लाख ७९ हजार बैङ्क ग्यारेन्टीसमेत जफत गरिएको थियो ।
कार्यालयका इन्जिनियर शाहीले मुद्दाको किनारा नलागेकाले नयाँ ठेक्का प्रव्रिmया पनि सुरु हुन नसकेको बताउनुभयो । मुद्दाको टुङ्गो लागिसकेपछि पुलको नयाँ ठेक्का प्रव्रिmया सुरु गरिने छ । यसका साथै पुल सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयसँग रकम सुनिश्चितको सहमति पनि माग गरिएको उहाँले बताउनुभयो ।
१२ वर्षपछि पुल निर्माणको काम अलपत्र भएपछि रानीघाटबाट पारि जान ट्युब प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यहाँ रहेको झोलुङ्गे पुल पनि २०७१ को बाढीले बगाएपछि वारपार गर्न असहज छ । पुल तर्न अहिले करिब आधा घन्टा टाढा पुग्नुपर्ने अवस्था रहेको स्थानीय मानकुमारी सार्कीले बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका–२ र वराहताल गाउँपालिका–१ र २ जोड्ने सो पुल निर्माण भएको भए बर्दियाको भुरीगाउँ पुग्न छोटो हुने अर्का स्थानीय लीलारामले बताउनुभयो । पुल छिटो बनाउन धेरै ठाउँमा निवेदन दिएको, डेलिगेसन भएको भन्दै उहाँले कसैले सुनुवाइ नगरेको दुःखेसो उहाँले सुनाउनुभयो । पुल निर्माण भएको भए ५४ किमीको दुरीमा बर्दियाको भुरीगाउँ पुग्न सकिन्छ । प्रत्येक निर्वाचनमा भुरीगाउँ–तेलपानी सडक निर्माण गर्ने, रानीघाट पुल बनाउने भनेर घोषणा गरे पनि हालसम्म बनाउने पहल नभएको स्थानीयको आरोप छ ।
यता कर्णाली प्रदेश सरकारले पनि दुई प्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखेको जनाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतको तेलपानीदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकलाई प्राथमिकतामा राखेको र पुल निर्माणको कामलाई पनि दबाब दिइरहेको बताउनुभयो ।