• ३१ चैत २०८१, आइतबार

आगामी बजेटमा सिद्धार्थ राजमार्ग प्राथमिकतामा पर्छ : उपप्रधानमन्त्री पौडेल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल।

हरिप्रसाद सुवेदी 

स्याङ्जा, चैत ३० गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ।

सिद्धार्थ राजमार्ग बुटवल, पोखरा र स्याङ्जाको मात्र नभई मुलुकको अर्थतन्त्रमा टेवा दिने राजमार्ग भएको बताउँदै पर्यटक आकर्षण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ को नवनिर्मित वडा कार्यालयको भवन, आधारभूत स्वास्थ्य चौकीको भवन र वैघा-रिडी सडकको उद्घाटन गर्दै मन्त्री पौडेलले  बुटवल—पोखरा सडक खण्ड दुई घण्टामा यात्रा गर्न सकिने गरेर पहल भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो ,“घुम्ती सुधार गर्ने, अग्लो पुल र छोटो सुरुङ मार्ग निर्माण गरेर यसको दुरी एक सय दुई किलोमिटरमा खुम्च्याउँछौँ ।” 

बाटोमा अत्याधुनिक पार्क निर्माण गरेर भारतीय पर्यटकको आकर्षण बनाउन सकिने गरि यसको स्तरोन्नति हुँदा छोटो समयमा प्रतिफल दिन सकिने पौडेलको भनाइ छ।

नेपाली काँग्रेस र नेकपा (एमाले)को गठबन्धनले देशमा विकासको ढोका खोलेको बताउँदै अराजकतावादको प्रवृति बोक्नेको शिर उठ्न दिनु नहुने मन्त्री पौडेलले प्रष्ट पार्नुभयो।

वर्तमान सरकारलाई जनप्रतिनिधि र आमजनताको शक्ति रहेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो ,“यो शक्तिलाई साथमा लिएर विकास निर्माणको राष्ट्रिय अभिभारालाई पुरा गर्न यो सरकार प्रतिवद्ध रहेको छ।”

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ को नवनिर्मित वडा कार्यालयको भवन, आधारभूत स्वास्थ्य चौकीको भवन र वैघा-रिडी सडकको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनले देशमा विकासको ढोका खोलेको बताउनुभयो।उहाँले सरकारले अराजकतावादको प्रवृति बोक्नेको शिर उठ्न नदिने धारणासमेत व्यक्त गर्नुभएको छ।

वर्तमान  सरकारलाई जनप्रतिनिधि र आमजनताको शक्ति रहेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो ,“यो शक्तिलाई साथमा लिएर विकास निर्माणको राष्ट्रिय अभिभारालाई पुरा गर्न यो सरकार प्रतिवद्ध छ।”

कालीगण्डकी गाउँपालिकाले आफ्नै स्रोतबाट वडा नम्बर ३ को नवनिर्मित भवन निर्माण गरेको हो।उक्त भवन एक करोड ६९ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो।यो भवन सम्पन्न भएसँगै पालिका भित्र सबै ७ वटै वडा कार्यालयमा आफ्नै भवनबाट सेवा प्रवाह भएको र भाडामा बसेर सेवा प्रदान गर्नुपर्ने समस्याको अन्त्य भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

सोही कार्यक्रममा मन्त्री पौडेलले वडा नम्बर ३ कै आधारभूत स्वास्थ्य चौकीको समेत उद्घाटन गर्नुभएको छ। एक वडा एक आधारभूत अस्पताल अन्तर्गत आधारभूत स्वास्थ्य चौकी उद्घाटन भएसँगै सामान्य उपचार गर्न पाल्पा जानुपर्ने समस्याको अन्त्य भएपछि पालिका बासी निकै खुसी भएका छन्।

संघीय सरकारको विशेष अनुदान अन्तर्गत एक करोड, प्रदेश सरकारको ४० लाख र स्थानीय सरकारको ३४ लाख ५४ हजारमा निर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुनेछ।


उपप्रधानमन्त्री पौडेलले १७ किलोमिटर वैघा-रिडीको कालोपत्रे सडकको पनि शनिबार नै उद्घाटन गर्नुभएको छ।२७ करोड ४२ लाख १५ हजारको लागतमा निर्माण भएको उक्त कालोपत्रे सडक कालीगण्डकी करिडोरसँग जोडिएपछि यहाँका जनता बजारको पहुँचसँग जोडिने छन्।  

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले) सचिव पद्माकुमारी अर्यालले मुलुक संघीयतामा गएसँगै देशले मुहार फेरेको धारणा व्यक्त गर्नुभयो।प्रदेश सासंद महेश भट्टराईले एमाले र नेपाली काँग्रेसको गठबन्धनले देशलाई विकासको गति दिएको बताउनुभयो।