साहारा लिम्बू
फुङ्लिङ, चैत ३० गते। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० का महिलाले अल्लो कपडाबाट विभिन्न किसिमका झोला तयार गरिरहेका छन्। स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई प्रवर्धन गर्ने र सीप विकाससँगै स्वरोजगार बनाउने उद्देश्यले महिलाले अल्लोबाट उत्पादित कपडाको झोला तयार गरेका हुन्।
६० दिने सिलाई बुनाई तालिम लिएपछि महिलाले विभिन्न प्रकारका झोला तयार गरेको फुङलिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्तोष लिम्बूले बताउनुभयो। ६० दिने तालिमपछि १६ जना महिला उद्यमी भइसकेको उहाँको भनाइ छ।
घरेलु तथा साना उद्योग कार्यालय, रेडपान्डा नेटवर्क, हिमाली संरक्षण मञ्च र वडा कार्यालयको संयुक्त पहलमा तालिम सञ्चालन गरिएको थियो। स्थानीय स्तरमा पाइने सामग्री अल्लो, भाङ्ग्रे सिस्नु, लोक्ता लगायतलाई सङ्कलनपछि प्रशोधन गरेर त्यसबाट झोला बनाउने गरेको चन्द्रिका लिम्बूले बताउनुभयो।
आफूले उत्पादन गरेका सामाग्रीको बजारीकरण भएमा भाबी दिनमा यसै क्षेत्रमार्फत गुजारा चलाउन सकिने सम्भावना बढेको उहाँको भनाइ छ।