• ६ वैशाख २०८२, शनिबार

खानेपानी आयोजना पूरा हुँदै

blog

धादिङबेँसी समाचारदाता

धादिङबेँसी, चैत ३० गते । धादिङबेँसी सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तिम चरणमा पुगेको छ । विसं २०७९ जेठमा सुरु भएको सहलगानी खानेपानी आयोजना अब अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४ र १२ का पाँच हजार १६४ घरधुरी लाभान्वित हुने छन् । 

धादिङबेँसीलगायतका स्थानमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । स्रोत नहुँदा स्थानीयलाई पर्याप्त पानी थिएन । प्रायः पानीका स्रोत टाढा हुने र वर्षाको मौसमबाहेक पानीको उपलब्धता न्यून हुने समस्याले स्थानीय समुदायलाई पीडित बनाएको थियो । अब घर घरमा धारो आउने भएपछि स्थानीय खुसी भएका छन् । हालसम्म आयोजनाको ४९.३९ प्रतिशत वित्तीय र ५६ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख विवेक खतिवडाले जानकारी दिनुभयो । अहिले धादिङको नीलकण्ठ नगरपालिकाका विभिन्न वडामा खानेपानी पु-याउन वितरण ट्याङ्की निर्माण, पाइप लाइन जडान र शुद्धीकरण संयन्त्रको कार्य भइरहेको छ । 

अल्छिडाँडा दुई सय घनमिटर, अधिकारी डाँडामा दुई सय घनमिटर, राम्चेमा ५० घनमिटर, डाँडागाउँमा एक सय घनमिटर र भानुपार्कमा चार सय घनमिटर क्षमताका वितरण ट्याङ्कीको निर्माण भइसकेको छ । कार्यालय भवनको ९० प्रतिशत निर्माण पनि पूरा भएको छ । खतिवडाका अनुसार कुल ८६ किलोमिटर पाइप लाइनको निर्माण रहेकामा ३८ किलोमिटर निर्माण भइसकेको छ । हाल इजारा र प्रगति टोल पुछार बजारमा पाइप लाइनको काम चलिरहेको छ । १५० घरधुरीमा पानीको धारा जडान गरिएको छ भने कुल पाँच हजार १६४ घरधुरीमा पानीको धारा जडान गर्ने लक्ष्य राखिएको छ ।

भुलभुले क्षेत्रका लागि २५ घनमिटर ट्याङ्की निर्माण र ट्रिटमेन्ट प्लान्ट निर्माण भने बाँकी रहेको योजना प्रमुख खतिवडाले बताउनुभयो । कार्यसम्पन्न हुने समय २०८२ असारसम्म तय गरिएको छ । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका प्रबन्धक निर्देशक सहदेव खड्काले म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ । 

नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका प्रमुुख भीमप्रसाद ढुङ्गानाले तिर्खामुक्त नगर बनाउने अभियानका साथ काम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब ५० वर्षसम्म धादिङबेँसीमा पानीको अभाव हुने छैन र अर्को विकल्प पनि खोज्नु पर्दैन ।” 

उहाँले नगरवासीलाई खानेपानीको सहज आपूर्ति गर्नका लागि विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ । नगरवासीले तिर्नुपर्ने रकमसमेत नगरपालिकाले बेहोरोको ढुङ्गानाको भनाइ छ । ढुङ्गानाले नगरप्रमुखमा निर्वाचित भइसकेपछि दातृ निकाय, सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा ठुला खानेपानी आयोजना सम्पन्न गरिसक्नुभएको छ । ४६ करोड रुपियाँको लागतमा निर्माण हुने उक्त खानेपानी आयोजना बागमती प्रदेशकै ठुलो योजनामा पर्ने बताइएको छ ।