• २ वैशाख २०८२, मङ्गलबार

संरक्षणको पर्खाइमा चन्द्रभोगा गढी

blog

चन्द्रभोगामा दरबार निर्माणमा प्रयोग भएका सामग्री । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत २८ गते । सप्तरीको शम्भुनाथ नगरपालिका २ मा अवस्थित एेतिहासिक र पुरातात्विक महत्त्व बोकेका चन्द्रभोगा गढी संरक्षणको पर्खाइमा छ ।

शम्भुनाथ नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब ५ किलोमिटर उत्तर चुरे पहाडमा अवस्थित चन्द्रभोगा गढी र दरबार भएको भग्नावशेष सहित विभिन्न फुल बुटा कुँदिएका शिलाहरू त्यस वरिपरिको क्षेत्रमा प्रशस्त भेटिने गरिएको भए पनि त्यसको संरक्षण भने हुन सकेको छैन ।

चन्द्रभोगा क्षेत्रमा अहिले पनि गढी निर्माण हुँदा बखत प्रयोग भएको निर्माण सामग्री जताततै छरिएको अवस्थामा भेटिने गरेको स्थानिय समाजसेवी तेजनाराण चौधरी बताउनुहुन्छ । सेनकालीन राजाहरूले त्यस क्षेत्रमा गढी र दरबार बनाएको हुन सक्ने इतिहासिविद्हरूको तर्क रहेपनि पुरातत्व विभागले यसबारे गहिरो अन्वेषण नगर्दा ओझेलमा पर्दै गएको छ चन्द्रभोगा गढी । 

त्यस क्षेत्रमा अहिले पनि शिवलिङ्ग जस्तो माटोमा गाडिएको पत्थर, कमलको फुल आकारको त्यस्तै देखिने पत्थर, विभिन्न प्राचिनकालीन पत्थरका सामग्रीसँगै इटाहरु समेत प्रशस्त देख्न सकिन्छ ।

देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था आएर तीन तहको सरकार भएपनि यस्ता एतिहासिक र पुरातात्विक महत्त्व बाेकेका चन्द्रभोगा गढीको संरक्षणमा तीनै तहका सरकार र पुरातत्व विभाग, पर्यट्न वोर्ड जस्ता निकायहरूले ध्यान नदिएको समाजसेवी चौधरीको गुनासो छ ।

५० देखि ६० बिघा क्षेत्रफलमा फैलिएको चन्द्रभोगा गढी क्षेत्रको विकास हुन नसकेको बताउनुहुन्छ शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दुर्गानन्द भगत । एक पटक डिपिआर बनेपनि काम केही नभएर बजेट फ्रिज भएको जानकारी दिनुभयो । चुरे क्षेत्रमा भएको त्यो स्थान नजिकै पुरानो दरबार पनि भेटिएको तर, बर्सेनि बाढी आउँदा चन्द्रभोगा गढी क्षेत्रमा रहेका पुरातात्विक महत्त्वका सामग्रीहरू बगाएर लग्ने गरेको उहाँले सुनाउनुभयो ।

“त्यहाँ एतिहासिक, पुरातात्विक र धार्मिक महत्त्व बोकेका अनेकन सामग्री र दरबारको भग्नावशेष छ । त्यसको सम्पूर्ण संरक्षण मात्रै स्थानिय सरकारबाट सम्भव छैन् । प्रदेश र केन्द्र सरकारले स्थानिय सरकार सँग सहकार्य गरी अन्वेषण लगायत संरक्षणका काम अगाडि बढाउनु आवश्यक छ” भगतले भन्नुभयो । 

प्रत्येक वर्ष वैशाख १ गते चन्द्रभोगामा ‘रहजैन धामी’ ले पूजाआजा गरेर बलि प्रदान गर्दै आएको र मेला पनि लाग्दै आएको समाजसेवी चौधरी बताउनुहुन्छ । उहाँले शम्भुनाथ मन्दिरमा रहेको शिवलिङ्ग पनि चन्द्रभोगा गढीबाटै ल्याएर स्थापना गरिएको र चन्द्रभोगा गढीलाई शम्भुनाथको मामाघर मानिने गरिएको जानकारी दिनुभयो ।


वैशाख १ गते देखि एक महिना लामो मेला शम्भुनाथ मन्दिरमा पनि लाग्दै आएको छ । “शम्भुनाथ मन्दिरको सम्बन्ध र चन्द्रभोगा गढी सँग रहेकोले प्रत्येक वर्ष वैशाख १ मा दुवै स्थानमा पूजापाठ हुने गरेको छ,” वडाध्यक्ष भगतले भन्नुभयो । 


यस्तो छ चन्द्रभोगा गढी

शम्भुनाथ नगरपालिका वडा नम्बर २ स्थित पुर्व पश्चिम राजमार्ग देखि ५ किलोमिटर उत्तर चुरेको चार वटा टप (उचाइ भएको पहाड) हरू छन् त्यस मध्येको पहिलो टपमा पहाडमै खनिएर बनाइएको तीन वटा शिलाघर छ । त्यसमा एउटा सानो भएपनि त्यसपछि आउने दुईटा शिलाघरको आकार भने ठुलो देखिन्छ । पहिलो आउने सानो शिलाघरमा चक्र जस्तै देखिने प्राचिनकालीन पत्थर भेटिन्छ । 

त्यसपछि ठुलो आकारको पहिलो शिलाघरमा पञ्चमुखि नाग स्वरूपको मुख्य मूर्तिसहित अन्य मूर्तिहरु र दोश्रो शिलाघरमा मूर्ति राखिने स्थान छ । तर त्यहाँको मूर्ति टुटफुट अवस्थामा रहेकोले आकृति बुझन सकिने अवस्था छैन् भने त्यो शिलाघरमा गुफा जस्तै दुईवटा दुलो समेत रहेका छन् । 

करिब १९ सय मिटर उचाइमा रहेको पहिलो टपमा यही तीन वटा शिलाघर छन् । अझ उचाइमा रहेको दोश्रो टपमा ३०÷३५ वर्षअघिसम्म दरबारको भग्नावशेष थियो । त्यतिबेला त्यहाँ ब्रहमा, विष्णु र महेशको मूर्तिहरू समेत थियो । तर, अहिले त्यहाँ ती मुर्तीहरू छैनन् । मुर्तिहरू बाढीले बगायो कि कसैले लग्यो भन्ने कसैलाई जानकारी नभएको सुनाउनु हुन्छ स्थानिय तेजनारायण चौधरी । उहाँले दोश्रो पछि तेश्रो र तेश्रो पछि चोथौ टपलाई चन्द्रभोगा टप भनिन्छ । यसको उचाई झण्डै समुन्द्री सतहदेखि दुई हजार मिटर रहेको बताउनु हुन्छ । चन्द्रभोगामा भाकल गरे मनोकामन पुरा हुने जनविश्वास रहिआएको चौधरी सुनाउनु हुन्छ । 

सप्तरीको शम्भुनाथ नगरपालिकाको नाम त्यहाँ स्थित एतिहासिक महत्त्व बाेकेका प्रसिद्ध शम्भुनाथ मन्दिरकै नामबाट राखिएको हो । शम्भुनाथ मन्दिरमा रहेको शिवलिङ्ग पनि चन्द्रभोगा गढीबाटै आएको स्थानीयहरू बताउँछन् । स्थानियका अनुसार शम्भुनाथ मन्दिरमा राखिएका विभिन्न मुर्तीहरु चन्द्रभोगा गढीकै हुन् । 

इतिहासविद् हरिकान्त लालले सप्तरीका एतिहासिक मठ मन्दिर र गढीहरू सम्बन्धमा लेख्नुभएको किताबमा पनि शम्भुनाथ मन्दिर र चन्द्रभोगा गढीको सम्बन्धबारे चर्चा छ । उहाँले शम्भुनाथ मन्दिरमा स्थापना गरेर पूजा गर्ने गरिएको शिवलिङ्ग चन्द्रभोगा गढीकै भएको उल्लेख गर्नुभएको छ ।

प्रत्येक वर्ष वैशाख १ गते शम्भुनाथ मन्दिरमा १ महिना लामो मेला लाग्ने गर्दछ । त्यस दिन कोशी व्यारेजबाट जल भरेर हजारौंंको सङ्ख्यामा काँवरीयाहरू शम्भुनाथ मन्दिरमा जल चढाउने गर्दछन् । 

त्यस्तै वैशाख १ मा चन्द्रभोगामा पनि पूजा हुँदै आएको छ । खसी, परेवाको समेत बलि दिने चलन रहि आएको छ । चन्द्रभोगा क्षेत्रमा चन्द्रकेतु नामाका राजाले आफ्नो कुलदेवी भन्द्रभागा भगवतीको स्थापना गरेका थिए भन्ने जन विश्वास रहि आएकोले त्यहाँ बलि प्रदान हुने गरेको स्थानीयहरूको भनाइ छ ।