• २५ जेठ २०८२, आइतबार

लागुऔषधको लतमा युवापुस्ता

blog

धनगढी समाचारदाता

धनगढी, चैत २८ गते । कैलालीमा धेरै युवा लागुऔषधको दुव्र्यसनमा फस्दै गएका छन् । नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै युवापुस्ता लागुऔषधको दुव्र्यसनमा फस्दै गएका हुन् । भारतबाट सजिलै विभिन्न किसिमका लागुऔषध भित्र्याएर किशोरकिशोरीदेखि लिएर युवकयुवतीले लागुऔषध प्रयोग गरिरहेका जनाइएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधको प्रयोग र कारोबार दुवै कार्यमा कतिपय युवा संलग्न रहेका छन् । प्रहरीले पछिल्ला दुई दिनको अवधिमा मात्रै कैलालीबाट १७ जना युवकयुवतीलाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रयोगकर्ता र कारोबारी दुवै रहेका छन् । 

मङ्गलबार पक्राउ परेकाको साथबाट पाँच ग्राम ६६० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–१ स्थित गौरभ आचार्यको घरमा लागुऔषध खाइरहेको भन्ने गोप्य सूचना पाएपछि खटेको प्रहरी टोलीले २५ वर्षीय आचार्यसहित सोही ठाउँका ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ र २२ वर्षका भीम बोहरालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । 

यसै गरी टीकापुर नगरपालिका–१, एकतानगर शिविरबाट प्रहरीले सोही ठाउँ बस्ने १८ वर्षीय सन्तोष विक र २३ वर्षीय बन्दना विकलाई एक ग्राम ४२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । यस्तै धनगढी उपमहानगरपालिका–९, बङ्ग्राकटानबाट  २२ वर्षीय विवेक राना, १८ वर्षीय आकाश राना, २२ वर्षीय भीम सुनार, २६ वर्षीय दिनेश बोहरा, २५ वर्षीय विशाल बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट ६६० मिलिग्राम लागुऔषध बरामद भएको जनाइएको छ । 

त्यस्तै धनगढी उपमहानगरपालिका–१९, लल्लिपुर घाटबाट धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय रोहित बोगटी र वडा नम्बर ८ का २२ वर्षीय लोकेन्द्र खड्कालाई ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

सोमबार राति मात्रै प्रहरीले धनगढीको एनएस होटेलबाट तीन ग्राम ७६० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित चार जनालाई नियन्त्रणमा लिएको थियो । लागुऔषधको कारोबारमा संलग्न भएको भन्दै उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा कञ्चनपुरको वेदकोट नगरपालिका–८ का २० वर्षीय सुरेश विष्ट, भिमदत्त नगरपालिका–१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल नगरपालिका–८ का १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३, मिलन चौककी १८ वर्षीय आशिका सिजापति रहेका छन् । 

आर्थिक वर्ष २०८०/८१ मा कैलाली प्रहरीले लागुऔषध मुद्दामा ४४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २७ महिला र ४२० जना पुरुष रहेका थिए । लागुऔषधसम्बन्धी ३१५ वटा मुद्दा दर्ता भएको थियो । यसै गरी ३१३ ग्राम ६२९ मिलिग्राम खैरो हेरोइन, साढे ३१ केजी चरेस बरामद गरिएको थियो ।