कृषिप्रधान भनेर चिनिने मुलुक नेपालमा यताका वर्षमा भने यो क्षेत्रको राम्रो खबर सुन्न, देख्न तथा पढ्न बिरलै पाइन्छ । कृषि पेसामा आश्रित जनसङ्ख्या घट्दो क्रममा छ । यताको दुई/तीन दशकमा वैदेशिक रोजगारीप्रतिको रहर र बाध्यताले सबैभन्दा बढी प्रतिकूल असर कृषिक्षेत्रमै परेको छ । गाउँघरका उर्वर खेतबारी विस्तारै बाँझो हुँदै गएका छन् । नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको खबर धेरै आउने गर्छन् । दुध उत्पादन गर्ने किसानले बर्सौंदेखि उत्पादनले राम्ररी बजार पाउन नसकेको देखिएको छ भने धेरै किसानले उधारोमा बेचेको दुधको मूल्य लामो समयदेखि पाउन नसकेको समेत देखिएको छ । उखु किसानले उत्पादनको मूल्य र बजार पाउन नसकेको पुरानै रोग जस्तै भएको छ । देशभित्रका कतिपय उत्पादनले बजार पाउन सकेका छैनन् भने देशले आयातित कृषि उपजको प्रयोग बढाउँदै लगेको देखिन्छ । सहरबजारका मार्टमा विदेशी कृषि उपजले छपक्कै ढाक्न थालेको देखिन्छ । स्वदेशी उत्पादनको बजार प्रवर्धनसमेत हुन सकेको छैन । यस्ता अनेकौँ स्वनिर्भर प्रतिकूल अवस्थामा रुपन्देहीको केही क्षेत्रमा भने गहुँको उत्पादन राम्रो हुन थालेको देखिएको छ । भारतबाट आयातित गहुँको बिउमा आश्रित त्यस क्षेत्रका किसान बिस्तारै गहुँको बिउमा स्वनिर्भर हुन थालेको खबरले नयाँ उत्साह छाएको छ । उर्वर भूमि नेपालमा व्यवस्थित तवरले कृषिकर्म गर्न सक्दा राम्रो प्रतिफल पाउन सकिने छ ।
रुपन्देहीको मर्चबार क्षेत्रमा केही वर्ष पहिलेसम्म भारतबाट मात्रै गहुँको बिउ ल्याउने गरिन्थ्यो । कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न भारतीय बजार गएको र फर्किंदा भारतीय सीमा सुरक्षा बलको ज्यादती झलझल्ती सम्झनुहुन्छ । अहिले सो क्षेत्रका किसानलाई भारतबाट गहुँको बिउ ल्याउनैपर्ने बाध्यता हटेको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गाउँमै गहुँ जोनको कार्यक्रम अगाडि बढाएपछि किसानले राम्रो गहुँ उत्पादन पाउन थालेका छन् । त्यति मात्र होइन, अहिले मर्चवारका अधिकांश किसानले नेपाली उन्नत जातका गहुँको बिउ प्रयोग गरेर गहुँ बाली अब्बल उत्पादन गर्न थालेका छन् । मर्चवारका ५० प्रतिशत किसानले अहिले भारतीय जातको छोडेर नेपाली उन्नत जातका गहुँको बिउ प्रयोग गर्न थालेको पाइएको छ । मर्चवार क्षेत्रका तीन वटा स्थानीय तह कोटहीमाई गाउँपालिका, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका १६ वटा वडालाई समेटेर करिब तीन हजार हेक्टरमा गहुँ जोन कार्यक्रम सञ्चालनमा आएपछि किसानका दिन फेरिन थालेका हुन् । तीन वर्षअघि विसं २०७८ मा लागु भएको गहुँ जोन कार्यक्रम विस्तारतिर अग्रसर छ । गहुँ जोन परियोजनाले कृषकलाई उन्नत जातको नेपाली गहुँ प्रवर्धन गरेको छ । गहुँको बिउमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । अनुदानमा बिउ पाएपछि कृषक नेपाली जातका बिउ प्रयोग गरेर गहुँ खेती गर्न अग्रसर भए । यसले राम्रो नतिजा दिन थालेको छ । गहुँ जोन परियोजनाले नेपाली गहुँ उत्पादन र प्रवर्धनमा संस्थागत थप प्रयास पनि अगाडि बढाएको छ ।
स्थानीय सहकारी नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारीसँग सहकार्य गरी करिब दुई सय हेक्टर क्षेत्रफलमा उन्नत बिउ उत्पादनले बीज वृद्धि कार्यक्रममा सघाउ पु¥याएको छ । अहिले मर्चवार क्षेत्रका १८५ जना किसानले करिब छ सय हेक्टर जमिनमा नेपाली जातका गहुँको बिउ उत्पादन गर्न थालेका छन् । परियोजनाकै सहयोगमा मर्चवारमै पहिलो पटक प्राथमिक प्रशोधन र भण्डारण केन्द्र कोटहीमाई गाउँपालिका–५ मा सञ्चालनमा गरिएको छ । प्रशोधन केन्द्र पाँच सय मेट्रिक टन गहुँ भण्डारण गर्न सक्ने क्षमताको छ । यसले स्वदेशी गहुँको प्रवर्धनमा ठुलो टेवा पुर्याउने विश्वास बढेको छ । कृषिलाई उन्नत बिउसँगै यान्त्रिकीकरणको प्रयास पनि अगाडि बढाइएको छ । परियोजनाले किसानको उत्पादन लागत न्यूनीकरण गर्न गहुँ छर्ने सुपर सिड मेसिन प्रयोगमा ल्याएको छ । त्यसै गरी गहुँ काट्ने रिपर, थ्रेसर, कम्पाइन हार्भेस्टर जस्ता आधुनिक उपकरण अनुदानमा वितरण गरी किसानलाई सहयोग गरेको छ । सिँचाइको समस्यालाई ध्यानमा राखी परियोजनाले ३० वटा ठाउँमा किसानको स्यालो ट्युबेल अनुदानमा निर्माण गरी यस क्षेत्रको करिब चार सय हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्थासमेत गरेको छ । नेपाली कृषि अब घरेलु स्तरमा परम्परागत तवरले सम्भव छैन । मर्चवार क्षेत्रकै जस्तो व्यवसायीकरण गरिनु आवश्यक छ ।