गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले म्यान्मारका भूकम्पपीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । महासङ्घ विपत् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधिमार्फत राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
राहतस्वरूप चामल, मसुरो दाल, भाँडाकुँडा सेट, लामखुट्टेको झुल, ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, ब्यान्डेज, इलास्टिक एडजस्टेबल ब्यान्ड तथा पेपर टेपलगायतका सामग्री प्रदान गरेको महासङ्घले जनाएको छ ।
महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत महासङ्घले देशभित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनामा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
चैत १५ गते गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यान्मारमा ठुलो क्षति पुर्याएको छ । त्यसलगत्तै २१ चैतमा परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यान्मारमा भूकम्पपीडितका लागि राहत पठाउने निर्णय भएको थियो । सोही अनुसार राहत सामग्री हस्तान्तरण गरिएको महासङ्घले जनाएको छ । महासङ्घले भूकम्प, बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिमा स्वदेशसँगै विदेशमा समेत सहयोग गर्दै आएको छ ।
यसैबिच नेपाल उद्योग परिसङ्घले पनि म्यान्मारका भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले परराष्ट्रमन्त्री आरजु राणालाई बुधबार सहयोग सामग्री हस्तान्तरण गरेको परिसङ्घ सचिवालयले जनाएको छ । परिसङ्घले दाल चिउरा, चामल, चाउचाउ, बिस्कुटलगायत सामग्री हस्तान्तरण गरिएको हो ।