प्रेमराज सिम्खडा
कालीकोट चैत २८ गते । कालीकोटको खाँडाचक्र नगरपालिकाले फोहोरलाई व्यवस्थापन गर्न नसक्दा जोखिम बढिरहेको छ । नगरपालिका केन्द्र सदरमुकाम मान्म बजार नजिकैको जङ्गलमा खुला ठाउँमा फालिएको फोहोरले प्रदूषण मात्र होइन बालबालिकाको ज्यानमा समेत जोखिम बढाएको छ । फोहोर थुपारिएको ठाउँमा बालबालिका कुनै बस्तुको खोजी गरिहरेका छन् ।
स्थानीय नन्दकेश अधिकारीले फोहोर थुपारिएको ठाउँमा बालबालिका जाने भएकाले जोखिम बढेको बताउनुभयो । सधैँ यहाँ बालबालिका फोहोरमा केही खोजिरहेको हुन्छन् । यहाँ रोक्ने कोही छैनन् । घरमा अभिभावक पनि खासै सक्रिय नभएका बालबालिका हुन । बादी समुदायका बालबालिका देखि लक्षित समूहका बालबालिका यहाँ दैनिक केही बस्तु खोजिरहेका हुन्छन् ।
होटलमा प्रयोग भएका मदिराका वोटल, देखि धेरै जोखिम समान यहाँ यत्रतत्र फालिएको छ । यसैलाई उनीहरूले खोजिरहेका हुन्छन् । भरपर्दो खाने कुरा घरमा नपाउने भएकाले पनि यहाँ खानेकुरा खोजिरहेको हुन्छन् । प्लास्टिकमा पोको पारेको भात दाल यस्ता कुरा खोजेर बालबालिकाले खाने गरेको स्थानीय मानबहादुर गिरीले बताउनुभयो ।
यहाँको फोहोर व्यवस्थापनका लागि नागरिकले पनि धेरै पटक आवाज उठाउने गरेका छन् । खाँडाचक्र नगरपालिका १ मान्म बजार बस्ने स्थानीय अनन्त बरालले रेडियो नेपालका कार्यक्रम सम्म हामीले फोहोर व्यवस्थापनका लागि कुरा गरे पनि नगरपालिकाले सुन्ने प्रयास सम्म नगरेको बताउनुभयो । फोहोरले मानवीय अस्वस्थता बढाउने भएकाले नगरपालिकाले यस्ता विषयमा ध्यान दिन नागरिकको भनाई छ । तर नगरपालिका उपप्रमुख गाणेशवहादुर शाहीले भने नगरपालिका नै बिरामी भएकाले नागरिकलाई सुरक्षित राख्न सक्ने अवस्था नभएको जवाफ दिनुभयो ।
नगरपालिका उपप्रमुख शाहीले डाक्टर आफै बिरामी छ भने बिरामीको उपचार कसरी गर्ने भन्दै उल्टो प्रश्न गर्नुभयो । खासमा खाँडाचक्र नगरपालिका आफै पनि अस्तव्यस्त छ । छ महिना देखि प्रमुख प्रशासकीय अधिकृत थिएनन् । बल्ल काम चलाउका रूपमा तिलागुफा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढालाई काजमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
उता शिक्षकले तलब पाएका छैनन् । यता नगरप्रमुख कमलबहादुर शाहीले फोहोर व्यवस्थापन देखि अन्य धेरै काम सुधार गर्न लागि परेको भए पनि परिणाम आउन नसकेको बताउनुभयो । फोहोर जथाभाबी फालेका कारणले खानेपानीको श्रोत पनि प्रदूषण भइरहेको छ । वातावरण समेत निकै प्रदूषण छ । सडकमा आऊ जाऊ गर्दा दुर्गन्धित हुँदै आएको छ । सडकमा हिँड्ने नागरिक नाक थुनेर हिँडिरहेका छन् । यसको समयमा व्यवस्थापन गर्न नसकेमा ठुलो जोखिम निम्ताउने पक्का छ ।