काठमाडौँ, चैत २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको फुलचोकी आसपासको क्षेत्रमा वर्षा भइरहेको छ ।
यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ ।
उहाँका अनुसार खासगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
उहाँले यो वर्षा केही बेरमा रोकिने सम्भावना रहे पनि बिहीबार र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो वर्षा एकछिन रोकिए पनि राति र बिहीबार पनि पानी पर्ने सम्भावना छ । मौसम बदली भइरहने तर वर्षा पनि भइरहने सम्भावना छ ।”