• ४ वैशाख २०८२, बिहिबार

नाम्खामा उनन्चालिस हिउँचितुवा

blog

हिउँचितुवाको अवस्थाका बारेमा जानकारी गराइँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, चैत २७ गते । हिमाली जिल्ला हुम्लाको नाम्खामा हिउँचितुवाको सङ्ख्या पत्ता लागेको छ । सो गाउँपालिकामा पहिलो पटक हिउँचितुवाको अध्ययन सम्पन्न भएपछि यसको सङ्ख्या पत्ता लागेको हो ।

उच्च पहाडी तथा हिमाली पारिस्थितिकीय प्रणालीमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हिउँचितुवाको सङ्ख्या क्यामरा ट्र्यापिङ प्रविधिबाट पत्ता लगाउने काम भएको उकाली परियोजनाका प्रमुख अनुसन्धान रिन्जिनफुन्जोक लामाले बताउनुभयो । आफ्नो संस्थाले अनुमति लिएर गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा उहाँले हिउँचितुवाको सङ्ख्या सार्वजनिक गर्नुभएको हो । 

उहाँले पहिलो पटक नाम्खा गाउँपालिकामा गरिएको गणनामा ३९ वटा हिउँचितुवा पत्ता लागेको बताउनुभयो । यो सङ्ख्या हाल नेपालमा पत्ता लागेको सङ्ख्याभन्दा राम्रो स्तरमा हुम्लामा पत्ता लागेको उहाँको भनाइ छ ।

अनुसन्धान गरिएको क्षेत्रमा पत्ता लागेका हिउँचितुवाको सङ्ख्यालाई हेर्दा प्रतिएक सय वर्ग किलोमिटरमा १.८४ घनत्व रहेको छ । यसको अनुसन्धान एकदेखि चार महिनासम्म गर्न सकिने भए पनि नाम्खा गाउँपालिकाको उच्च क्षेत्रमा दुई महिनामा गरिएको हो । सन् २०२२ को अक्टोबर महिनाबाट सुरु भएर २०२३ जुलाईसम्म ६१ वटा क्यामरा ट्र्याप गरेर हिउँचितुवा पत्ता लगाउने कार्य भएको उहाँले बताउनुभयो । 

अनुसन्धान गर्ने क्रममा सम्बन्धित क्षेत्रमा हिउँचितुवाको आहार, बास र बिमारको पनि अध्ययन गरिएको थियो । हिउँचितुवा दुई हजार आठ सय मिटरभन्दा माथिको उचाइमा रहने भए पनि हाल नाम्खा गाउँपालिकामा गरिएको अध्ययनमा भने तीन हजार माथिको उचाइमा मात्र पाइएको हो ।

गणना कार्यमा हिँडेर जानुपर्ने र क्यामरा पनि राख्नुपर्ने भएका कारण निकै जोखिम र खर्चिलो किसिमले काम गर्नु परेको उहाँले बताउनुभयो । यसका लागि डिभिजन वन कार्यालय हुम्लाले समन्वय गरेको थियो । अब परियोजनाले दोस्रो चरणमा चुवाखोला र तेस्रो चरणमा रानीसैनाको पनि अध्ययन गर्ने छ । अनुसन्धान कार्य पूरा भएपछि हुम्लामा हिउँचितुवाको वास्तविक सङ्ख्या पत्ता लाग्ने छ । यसअघि पैदलयात्रुले देखेको भरमा हुम्लामा हिउँचितुवा भएको भन्ने गरिएको भए पनि अब भने अनुसन्धानबाट कति सङ्ख्यामा छन् भन्ने यकिन हुने भएको छ ।