बुलबुले समाचारदाता
सुर्खेत, चैत २७ गते । वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवर्धनमा जोड दिएको छ । संरक्षण अभावमा रहेका ताल, पार्क र चौतारी पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।
बुलबुलेमा ताल संरक्षण, घण्टाघरमा पार्क निर्माण र छहारी बस्नका लागि वरपिपलसहितका चौतारी संरक्षण गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले बुलबुले ताल र घण्टाघर पार्क अवलोकन गर्ने नागरिकको घुइँचो लाग्ने गरेको छ । बिदाको समयमा बुलबुले ताल मात्र दैनिक सात सय जनाले अवलोकन गर्ने गरेका जनाइएको छ । त्यहाँको डुङ्गा सयर प्रमुख आकर्षण हो ।
हालै सञ्चालनमा आएको घण्टाघर पार्कमा मात्र दैनिक चार/पाँच सय नागरिकले अवलोकन गर्ने गरेका छन् । उनीहरूले फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् । आन्तरिक पर्यटकको पहिलो गन्तव्यका रूपमा वीरेन्द्रनगरका काँक्रेविहार, बुलबुले ताल, सहिद पार्क र घण्टाघर पार्कलाई लिन सकिन्छ ।
नगरपालिकाले जीर्ण अवस्थामा रहेका संरचनाको पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वरपिपलसहितका चौतारी निर्माण तथा नयाँ नयाँ पर्यटकीय संरचनाको निर्माणमा जोड दिएको हो । वीरेन्द्रनगरको अर्को प्रमुख पर्यटक गन्तव्यका रूपमा सहिद पार्कलाई लिन सकिन्छ । पार्क व्यवस्थित बनेसँगै दैनिक पार्क अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ ।
अहिले बुलबुलेमा नयाँ ताल निर्माण सुरु गरिएको छ । चरा र पानी संरक्षणका लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो ।
२०८२ असार १० भित्र निर्माण सम्पन्न गर्ने गरी प्रवीण निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शिखर चपार्इंले पानीको स्रोत भए पनि लिकेज भइरहेकाले त्यसलाई संरक्षण गर्न नयाँ ताल निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार ताल चार हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ ।
यसै गरी वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको छ । त्यसका लागि नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षरोपण गर्नुपर्ने छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने छ ।
नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा नयाँ घर निर्माण गर्नेले दुई बिरुवा रोप्नैपर्ने नीति बनाएको बताउँदै वृक्षरोपण अभियान पनि चलाएको बताउनुभयो । उहाँका अनुसार विगतभन्दा वीरेन्द्रनगर सुन्दर, सफा तथा हरियाली बन्दै गएको छ । सडकछेउमा अहिले फलफूलका बिरुवासमेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ ।