सिँजा समाचारदाता
सिँजा (जुम्ला), चैत २७ गते । विद्यालयको भवनमा पक्की ढलान गरिएको छ तर ढलान छतमाथि पुराना जस्तापाता छापिएको छ । यो विषय तिला गाउँपालिका–८, जुम्लाकोट गाउँस्थित देउराली माध्यमिक विद्यालयको हो । १२ कक्षासम्म अध्यापन हुने देउराली माविमा पाँच सय विद्यार्थी सङ्ख्या रहेको छ ।
कक्षाकोठा अभाव भएपछि विद्यालयले भवन निर्माणका लागि तिला गाउँपालिकासमक्ष माग गरेको थियो । गाउँपालिकाले निर्णय गरेर शिक्षा विकास तथा समन्वय एकाइ जुम्ला हुँदै शिक्षा विकास तथा मानव संसाधन केन्द्रमा भवन निर्माणका लागि माग पुग्यो । आर्थिक वर्ष २०७७/७८ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तिला गाउँपालिकामार्फत १८ लाख रुपियाँ बजेट आएर उक्त भवन निर्माण भएको हो ।
पक्की ढलान भवनको छतमाथि पुराना जस्तापाता छापिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाख रुपियाँमा निर्माण भएको दुईकोठे पक्की भवन निर्माण भएकै वर्ष बर्सातको समयमा पानी चुहिन थालेपछि जस्तापाताले ढाक्नु परेको हो । गुणस्तरहीन भौतिक संरचना निर्माणको समस्याले ढलान छतबाट पानी चुहिएको देखिन्छ । एकातिर कक्षाकोठा अभाव, अर्कोतिर लाखौँ बजेट खर्चेर निर्माण गरिएको संरचना गुणस्तरहीन भएर चुइने भएपछि विद्यार्थी र शिक्षकलाई समस्या भएको छ ।
विद्यालयको नयाँ भवन बन्ने क्रममा पुराना जीर्ण भवन भत्काएको बेलाका पुराना जस्तापाताले चुहिने भवन छाइएको हो । अर्को दुईतले आठकोठे भवनमा पनि पानी चुहिने समस्या छ । चुहिने ठाउँमा ठेकेदारले मर्मत गर्ने भनिएको छ तर अहिलेसम्म पनि मर्मतसम्भारको काम भएको छैन ।
“कक्षाकोठा, कार्यालय कोठा अभावको समस्याले जस्तापाताले टालटुल गरेरै भए पनि काम चलाउ गरी भवन प्रयोगमा ल्याएका छौँ । भवन विद्यालयलाई हस्तान्तरण पनि गरिएको छैन,” तिला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईंले भन्नुभयो ।
उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालय भवन बनेको हो । भवनमा केही समस्या आएपछि मर्मत गर्नु पर्छ भनेर ठेकेदारको धरौटी फिर्ता पनि नगरिएको उहाँको भनाइ छ । तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाका अनुसार निर्माण भएका दुई वटै भवन चुहिने भएका छन् । दुईतले आठकोठे भवन हालसालै निर्माण भएको हो ।