• २ वैशाख २०८२, मङ्गलबार

पूर्वी रुकुम महोत्सव सुरु

blog

पूर्वी रुकुम संस्कृति, पर्यटन कृषि तथा व्यापार महोत्सव २०८१-०८२ उद्घाटन समारोह । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, चैत २६ गते । रुकुमपूर्वको सदरमुकाम रहेको सिस्ने गाउँपालिका-६ छिप्रिदह रुकुमकोटमा महोत्सव सुरु भएको छ । पूर्वी रुकुम संस्कृति, पर्यटन कृषि तथा व्यापार महोत्सव २०८१-०८२ मङ्गलबारबाट रुकुमकोटमा सुरु भएको हो  । 

'समृद्ध रुकुमपूर्वको आधार, कला संस्कृतिको पहिचान' नारा दिएर अठाले ग्रुप प्रालि रुकुमपूर्वले आयोजना गरेको महोत्सव जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसीले उद्घाटन गर्नुभएको छ । २०८१ चैत २६ गते देखि २०८२ वैशाख १० गते सम्म पूर्वी रुकुम संस्कृति, पर्यटन कृषि तथा व्यापार महोत्सव २०८१-०८२ सञ्चालन हुने भएको छ । जिल्लाको व्यापार प्रवद्र्धन र कला संस्कृति जगेर्नाका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवले जिल्लाको मौलिक कला, संस्कृति तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा थप टेवा पुग्ने जिसस रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसीले बताउनुभयो । रुकुमपूर्व मौलिक कला, संस्कृति, पर्यटनले धनी जिल्ला रहेको केसीको भनाइ रहेको थियो । 

स्थानीय कृषि पेसा व्यवसाय र सेवा प्रदायकहरूका वस्तु तथा सेवा बिक्री वितरण र यहाँका ऐतिहासिक, पौराणिक, धार्मिक सांस्कृतिक सम्पदाको पहिचान र जानकारी लिन मिल्ने गरी महोत्सवमा स्टलको व्यवस्थापन गरिएको आयोजकले जानकारी दिएको छ । 

महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त नायक, नायिका, गायक, गायिका, स्थानीय कलाकार लगायतको प्रस्तुति रहने छ । आयोजकका अनुसार महोत्सवमा करिब सय व्यापारिक स्टल रहेको बताएको छ ।