महोत्तरी समाचारदाता
महोत्तरी, चैत २६ गते । एक समय विद्यार्थीले भरिभराउ हुने बालमन्दिर विद्यालयमा अहिले विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी हुन थालेको छ ।
भर्नाका लागि प्रवेश परीक्षामा पास भएपछि मात्रै भर्ना लिने विद्यालय अहिले आफैँ विद्यार्थीको खोजीमा रहेका छन् । जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको बालमन्दिर आधारभूत विद्यालय एक समय जेहेनदार, मेहनती र हुनेखाने घरका बालबालिका पढ्ने विद्यालय थियो तर अचेल विद्यार्थी कम, शिक्षक बढी भएको विद्यालयका रूपमा पहिचान बनाउन थालेको छ ।
यो विद्यालय अहिले अर्को विद्यालयमा गाभिने अवस्थामा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र गुप्ता बताउनुहुन्छ । स्वर्ण जयन्ती मनाउने क्रममा रहेको विद्यालयले विद्यार्थीको अभाव झेल्दै आएको र आफूले विद्यार्थी सङ्ख्या बढाउन पहलकदमी लिए पनि सफल हुने छाँटकाँट नदेखिएको अध्यक्ष गुप्ताको भनाइ छ ।
यस विद्यालयमा कक्षा ५ सम्म अध्ययन हुँदै आएको छ । आधा दर्जन शिक्षकले पढाउने यस विद्यालयमा अहिले ६९ जना विद्यार्थी अध्ययनरत रहे पनि नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या न्यून छ । पञ्चायतकालमा राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत २०३१ सालमा बालबालिकालाई शिक्षासहित असल नागरिक बनाउने उद्देश्यले यो विद्यालय स्थापना गरिएको हो । नेपाल बाल सङ्गठनको मातहतमा रहेको यो विद्यालय सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहको मातहतमा आएको हो ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंहले चार कट्ठा जग्गा रहेको यो विद्यालयमा स्थापनाकालदेखि नै राम्रा भवन बनेको बताउनुभयो । उहाँले तत्कालीन राजपरिवारका सदस्यले सञ्चालन गरेको यो विद्यालयमा राजपरिवारसँग सम्बन्ध स्थापित गर्न हुनेखानेले समेत यस विद्यालयमा आफ्ना बालबालिका पढाउने गरेको स्मरण गर्दै अहिले विद्यालयमा विद्यार्थी अभाव भइरहेको जानकारी दिनुभयो ।
यो क्षेत्रमा लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय, कन्या मावि तथा आधा दर्जनभन्दा बढी निजी विद्यालय सञ्चालन रहेको बताउँदै उहाँले अभिभावकले चासो नदिँदा विद्यालय अर्को विद्यालयमा गाभिने अवस्थामा पुगेको गुनासो गर्नुभयो । वडा नं. २ मा मात्रै लक्ष्मीचण्डी मुरारका माविसहित निजी रूपमा एडभान्स, वीणा विद्या, न्यु मोर्डन माविसम्मको विद्यालय रहेको छ ।
विसं २०४१ मा कक्षा १ हुँदै २०४५ सालमा कक्षा ५ भएको विद्यालय अहिलेसम्म ५ कक्षामै सीमित रहेको छ । तीन दशकदेखि यसै विद्यालयको प्रधानाध्यापकका रूपमा कार्य गर्दै आएका प्रधानाध्यापक सिंहले आफूले पटक पटक स्तरोन्नतिका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय, जिल्ला बाल सङ्गठनलाई अनुरोध गर्दै आए पनि अहिलेसम्म स्तरोन्नति हुन नसकेको गुनासो गर्नुभयो । विगतमा जलेश्वरसहित सारी, बजराही, सुगा, धबौली, खैरासम्मका विद्यार्थी पढ्नका लागि आउने विद्यालयमा अहिले आफ्नै वडाका विद्यार्थी पढ्न नआएको गुनासो प्रधानाध्यापक सिंहको छ ।
विद्यालयका पूर्वअध्यक्ष प्रह्लाद साहले विद्यालयको जग्गासमेत आफ्नो नाममा नभई अञ्चलाधीश कार्यालयका नाममा रहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायले यस विद्यालयमा ध्यान नदिएका कारण विद्यालयको अवस्था धराशायी हुँदै गएको बताउनुभयो ।
विगतमा नेपाल बाल सङ्गठनमातहत छँदा सोको सदस्यका रूपमा बालमन्दिरलाई नजिकसँगै नियाल्नुभएका स्थानीय राकेशप्रसाद चौधरीले जलेश्वरमा निजी विद्यालय स्थापनाको श्रेय बालमन्दिरलाई नै गएको सम्झिनुभयो । उहाँले निजी विद्यालय सरह पढाइ हुने सो विद्यालयमा तत्कालीन समयमा खाजाको समेत व्यवस्था रहेका कारण विद्यार्थीको लाम लाग्ने गरेको बताउनुभयो ।
उहाँले बालमन्दिरमा ४ र ५ कक्षा पढेर लक्ष्मीचण्डी तथा कन्या माविमा पढ्न जाने विद्यार्थी टप टेनमा पर्ने गरेका बताउँदै यसले पनि सो विद्यालयमा विगतमा पठनपाठनको अवस्था राम्रो थियो भन्नुभयो । अहिले भने विद्यालयको इतिहास र पहिचान गुमेको उहाँको भनाइ थियो ।
नेपाल बाल सङ्गठन महोत्तरीका सभापति मनोज नायकले विद्यार्थी सङ्ख्या अभावका कारणले विद्यालयको स्तरोन्नति हुन नसकेको बताउँदै पालिका विद्यालयको पहिचान कायम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले विद्यार्थी सङ्ख्या नभएका कारण विद्यालयको स्तरोन्नति हुन नसकेको बताउनुभयो । उहाँले बालमन्दिरको पहिचान र इतिहास कायम राख्न पालिकासमेत गम्भीर भए पनि शैक्षिक वातावरण, विद्यार्थी सङ्ख्या नबढेकाले समस्या देखिएको बताउनुभयो ।