टोपलाल अर्याल
रेसुंगा, चैत २६ गते । नेपाली कांग्रेस गुल्मीले १२ जना युवा र शिक्षा क्षेत्रमा उत्कृष्ट तीन जनालाई सम्मान गर्ने भएको छ । मङ्गलबार गुल्मीमा सुरु हुने तेस्रो जिल्ला सम्मेलनको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट १२ र शिक्षा क्षेत्रमा उत्कृष्ट तीन जनालाई सम्मान गर्ने भएको हो ।
व्यक्तिगत लगानीमा रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गर्ने मदानेका बिनोद कुवंर, रेसुंगा जल सञ्चालन गर्ने तीन युवा सन्तोष कुँवर, विश्वास पुन र राम पन्थीलाई कांग्रेसले सम्मान गर्ने भएको हो । त्यस्तै कालिगण्डकीमा व्यावसायीक किवी र तरकारी खेती गरिरहनु लक्ष्मीकान्त न्यौपाने, व्यावसायीक बाख्रापालन गर्नुभएका गुल्मीदरवारका विशाल थापा, व्यावसायीक कुखुरा र तरकारी खेतीमा गर्दै आउनुभएका छत्रकोटका बिष्णुप्रसाद भण्डारीलाई सम्मान गर्ने नेपाली कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।
त्यस्तै, धुर्कोटबाट लामो समयदेखि पशुपालन एवम् दुग्ध व्यावसाय गर्नुभएका रविन्द्र घिमिरे, र सुन्तला किसान बिष्णु खनाल तथा परदेश छोडेर गाउँमै च्याउ खेतीमा मनग्य आम्दानी गर्ने कमला भलामीलाई तेस्रो सम्मेलनमा सम्मान गर्ने निर्णय कांग्रेसले गरेको छ । यसैगरी रेसुंगा नगरपालिकाबाट खगराज र सुनिल पाण्डेयलाई पनि सम्मान गरिने छ । पाण्डेयद्वयले लामो समयदेखि व्यावसायीक रुपमा कुखुरा, अण्डा तथा तरकारी उत्पादन गरिरहनु भएको छ ।
त्यस्तै, त्रिभुवन विश्व विद्यालय केन्द्रीय विभागको रसायन शास्त्रतर्फ स्नाततोत्तर परीक्षामा ३.९५ जिपिएसहित नेपालमै सर्वोउत्कृष्ट हुने गुल्मी रेसुंगा नगरपालिका–१४ का सुशिल पोख्रेल, गत वर्षको एसइई परीक्षामा जिल्लामा प्रथम हुने अनिषा विश्वकर्मा र कक्षा १२ को परीक्षामा जिल्ला प्रथम हुने गृस्मा पाण्डेयलाई पनि सम्मान गरिने नेपाली कांग्रेस गुल्मीका सचिव खड्काले बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले तेस्रो जिल्ला सम्मेलन चैत २६ र २७ गते आयोजना गरेको छ । सम्मेलनमा कांग्रेस दुई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्न आउने नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनुभयो ।
त्यस्तै, केन्द्रीय नेताहरु डा. चन्द्र भण्डारी, चन्द्र केसी लगायतले पनि सभालाई सम्बोधन गर्नुहुनेछ । कांग्रेसले ‘एकता, विकास र समर्पण : समुन्नत गुल्मीका लागि कांग्रेसको प्रण’ भन्ने नारासहितको लोगो सार्वजनिक गरेको छ । पार्टीको सङ्गठन सुदृढिकरण, गणतन्त्र तथा पार्टीप्रति आम कार्यकर्तामा उर्जा दिने र आगामी बर्षको योजना निर्माणनै सम्मेलनको प्रमुख उदेश्य रहेको पन्थीले बताउनुभयो ।