बुटवल समाचारदाता
बुटवल, चैत २६ गते । तीन वर्षअघि कृषि समूह गठन गरी मकै खेती सुरु गरेका बुटवल उपमहानगरपालिका–१४, सेमलार र मोतीगन्जका किसानले लगानीको तेब्बर आम्दानी गर्न सफल भएका छन् । मकै खेतीअघि धान खेती मात्रै गर्दै आएका किसानले धानभन्दा मकैमा उत्पादन र आम्दानी तेब्बरले बढेपछि मकै खेतीलाई अब निरन्तरता दिने बताएका छन् ।
बुटवल उपमहानगरको प्राविधिक सहयोगमा उक्त क्षेत्रलाई मकै पकेट क्षेत्र घोषणा गरी स्थानीय किसानलाई बिउ र मलमा सहयोग गरिएपछि किसानसमेत उत्साहित बनेका छन् ।
मोतीगन्ज मकै पकेट क्षेत्र विकास समितिका संयोजक तुलसीप्रसाद पौडेलले मोतीगन्जका ४१ जना किसानले ३० हेक्टर जग्गामा सामूहिक मकै खेती गरेर गत वर्ष ५० लाख र यस वर्ष ६० लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउनुभयो ।
किसान आफैँले पनि दुईदेखि पाँच कट्ठा जग्गामा मकै खेती गरेर एक पटकमा एक लाख ५० हजारसम्मको मकै उत्पादन गर्न सफल भएका छन् ।
मोतीगन्जका किसान वासुदेव पौडेलले पाँच कट्ठा जग्गामा मकै खेती गर्दा सामान्यतया १० देखि बढीमा ३० हजार रुपियाँ खर्च हुने र आम्दानी एक लाख ३० हजारसम्म गर्न सकिने बताउनुभयो ।
उहाँले सबै सिजनमा बराबर नाफा नभए पनि उत्पादनको तुलनामा नाफा बढी हुने भएकाले आफू मकै खेतीतर्फ लागेको बताउनुभयो ।
मकैको उन्नत बिउ, आवश्यक मल र सिँचाइका लागि पानीको तारतम्य मिलाउने हो भने मकै खेतीबाट राम्रो आम्दानी गर्न सकिने पौडेलले बताउनुभयो ।
मोतीगन्जका अगुवा किसान मुरारी खनालले मकै खेतीका लागि बुटवल उपमहानगरपालिकाले सहयोग गरेको बताउँदै मकै पकेट क्षेत्र बनाएर व्यावसायिक उत्पादन गर्दा राम्रो आम्दानी गर्न सकिएको बताउनुभयो । उहाँले उन्नत बिउकै कारण किसानले पहिलेको तुलनामा तीन गुणासम्म बढी उत्पादन गरी आम्दानी बढाउन सफल भएको बताउनुभयो ।
किसानले अहिले रामपुर हाइब्रिड ८, १० र १२ जातका मकैको बिउ लगाएका छन् । यो मकैमा घोँगा र दाना ठुलो हुने, मिठो र स्वादिलो हुने र सबै मकै एकैनासले फल्ने गरेको किसानको भनाइ छ ।
मकै खेतीबाट राम्रो आम्दानी गर्न सफल भएपछि तीन वर्षअघि २० जना कृषकले मात्रै मकै खेती गरेकोमा अहिले तीन वर्षका बिचमा सो सङ्ख्या ४१ पुगेको छ ।
बुटवल उपमहानगरपालिका कृषि शाखाले मकै खेती गर्ने किसानलाई मकै खेतीको ज्ञान र खेती गर्ने प्रविधि सिकाएपछि किसान मकै खेतीमा आकर्षित भएको जनाएको छ । कृषि प्राविधिक सोमनप्रसाद कुर्मीले जमिनको उत्पादकत्व वृद्धि गर्ने र किसानको आम्दानीसमेत बढाउने उद्देश्यले मकै पकेट क्षेत्र घोषणा गरी खेती गरिएको जानकारी दिनुभयो ।