गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २६ गते । मङ्गलबारदेखि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालका विभिन्न वन क्षेत्रको डढेलो र सीमापारबाट आएको धुलो धुवाँका कारण बढेको अत्यधिक वायुप्रदूषणका बिच हुन लागेको वर्षाले थोरै राहत पुर्याउने भएको छ ।
वायु प्रदूषणले काठमाडौँ उपत्यकाको जनजीवन यतिखेर सबैभन्दा बढी प्रभावित छ । धुलो, धुवाँसहितको तुवाँलोले अनेक प्रकारका स्वास्थ्य समस्या बढेको छ ।
मङ्गलबारदेखि हल्का वर्षा हुने गरी नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबारदेखि नेपालका पहाडी भेग हुँदै हल्का वर्षा गराउने प्रणाली सक्रिय रहेको मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।
पूर्वतर्फ बढी सक्रिय रहने प्रणालीले तराईका केही भेगसम्म हल्का वर्षा गराउने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्ररी वर्षा भयो भने केही स्थानको वायुप्रदूषणबाट थोरै राहत मिल्ने छ तर ठुलो वर्षा गराउने प्रणाली नरहेकाले भन्न सकिन्न ।” मङ्गलबार र बुधबार कोशी, बागमती, गण्डकी, कर्णाली र मधेश प्रदेशका केही स्थानसम्म थोरै सक्रिय रहने वर्षाको प्रणाली फेरि बिहीबारबाट कम हुँदै जाने अनुमान छ । यसले फेरि प्रदूषण बढाउने सम्भावना कायमै रहेको विज्ञहरूले बताएका छन् ।