• १७ असार २०८१, सोमबार

महेन्द्रको शालिक राख्ने विषयमा झापामा तनाव

blog

पार्कको सुरक्षामा खटिएका सुरक्षाकर्मी।

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २१ गते। झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा रहेको पुरानो महेन्द्र पार्कलाई सौन्दर्यकरण गरेर राजा महेन्द्र शाहको शालिक पुनस्र्थापना गर्न आएको समूहलाई प्रशासनले बल प्रयोग गरेर फिर्ता पठाएको छ। 

शनिबार शालिक पुर्नस्थापनाको घोषणा भएपछि बिहानैदेखि यहाँ सुरक्षाकर्मी परिचालन गरेर प्रशासनले यो कार्यलाई रोक लगाउन बल प्रयोग गर्ने तयारी गरेको थियो। सशस्त्र र जनपथ प्रहरीले पार्कलाई घेरा हालेका थिए।

स्वतस्फूर्त रुपमा समिति बनाएर पार्कमा पूर्वराजा महेन्द्र शाहको शालिक पुर्नस्थापनाको प्रयास भएको थियो। लोकतान्त्रिक आन्दोलनको क्रममा त्यहाँ रहेको शालिक तत्कालीन अवस्थामा माओवादीका कार्यकर्ताले तोडफोड गरेर ढालेका थिए।

शालिक पुर्नस्थापनाको समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई प्रहरीले पार्क प्रवेशद्वारमा रोकेपछि पार्कस्थलमा दुई घटनासम्म तनाव भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार सामान्य बल प्रयोग गरिएको हो।

भद्रपुर नगरपालिकाको स्वामित्वमा रहेको महेन्द्र पार्कमा शालिक पुर्नस्थापनाको तयारी भएपछि यसलाई रोक्नका लागि नगरपालिकाले प्रशासनलाई आग्रह गरेको थियो। बुधबार प्रशासनमा भएको छलफलमा शालिक राख्नका लागि नदिने निर्णय भएपछि शनिबार बिहानैदेखि यसलाई रोक्न प्रहरी परिचालन भएको हो।

समितिका संयोजक मैनालीले पार्कभित्र जसरी पनि पूर्वराजाको शालिक राखेरै छाडने बताउदै प्रशासनले यसमा हस्तक्षेप गर्नु नहुने बताउनुभयो। १६ वर्षसम्म पार्कको अवस्था दयनीय रहँदा कसैले नहेरेका कारण आफूहरुले यसको संरक्षणमा स्वतस्फूर्त रुपमा चासो दिएको पनि उहाँको भनाइ छ।

नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिकस्थल र पार्कमा अनाधिकृत रुपमा संरचना निर्माण, रंगरोकन, शालिक निर्माण, अतिक्रमण जस्ता कार्य हुन नदिने निर्णय भएकाले यो रोक्नका लागि आफूहरुले प्रशासनसँग माग गरेको भद्रपुर नगरपालिकाका एक जनप्रतिनिधिले बताउनुभयो।