अमरराज नहर्की
तनहुँ, चैत १९ गते । विश्व बैँककाे अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गको स्तरोन्नतिको काम सुस्त गतिमा भएको छ । समय सकिन साढे तीन महिना बाँकी रहँदा भौतिक प्रगति १४ प्रतिशत मात्रै छ ।
गत जेठ महिनादेखि सुरु भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । पटकपटक अनुगमन गरेर छिटो सम्पन्न गर्न निर्देशन दिएपछि हाल कामदारको सङ्ख्या निर्माण व्यावसायीले बढाएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
विश्व बैँकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत चार वडा जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेकोमा हालसम्म भौतिक प्रगति १४ प्रतिशत मात्रै रहेको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेलले जानकारी दिनुभयो ।
पौडेलले भन्नुभयो, "यही गतिमा काम भएमा असार मसान्त सम्ममा आधा काम पूरा हुने देखिएको छ, काम छिटो पूरा गर्न पत्रचार गरेका छौं ।" व्यास नगरपालिको ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको डा. पौडेलले जानकारी दिनुभयो ।
बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कुल-कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो ।
त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३ दशमलव ४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो । विसं २०८२ असारसम्म यसको म्याद छ ।
अनुगमनको क्रममा सडक स्तरोन्नतिको काम अत्यन्त सुस्त गतिमा भएको पाइएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । १० दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने छ ।
उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभन्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कूल, कलेस्ती लगायतका ठाउँ जोड्छ ।
सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । सडक सञ्चालनमा आएपछि बजार सम्मको सहज र छिटो पहुँच गर्नुका साथै सामाजिक सेवा प्रदान गर्ने नगर प्रमुख न्यौपानेको भनाइ छ ।
काम ढिलो हुँदा स्थानीयलाई धुलोले सास्ती दिएको सो सडकका उपभोक्ता व्यास नगरपालिका–११ पोल्याङ निवासी लोकराज सेढाँईले जानकारी दिनुभयो ।