• २० चैत २०८१, बुधबार

मुसिकोटका नागरिकले रुपन्देहीमा निःशुल्क रगत पाउने

blog

निःशुल्क रगत अपलब्ध गराउने विषयमा मुसिकोट नगरपालिका र रेडक्रस सोसाइटी रुपन्देहीबिच सम्झौता हुँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा, चैत १९ गते ।
गुल्मीको मुसिकोटका नागरिकले रुपन्देहीका अस्पतालहरुमा उपचारको क्रममा रगत आवश्यक परे निःशुल्क पाउने भएका छन् । कुनै घटना वा दुर्घटनामा परेर रगत अभावको कारण कसैको ज्यान नजाओस भन्ने उद्देश्यले मुसिकोट नगरपालिकाले रुपन्देही रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । रेडक्रसले रुपन्देहीमा रक्त सञ्चारकेन्द्र सञ्चालन गरेको छ ।

जसले तत्काल रगत आवश्यक परेका बेला उपलब्ध गराउने गरेको छ । मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले रेडक्रस सभापति रामचन्द्र उपाध्याय, मन्त्री टेकबहादुर थापा तथा रक्तसञ्चार केन्द्रका इन्चार्ज राधा ज्ञवालीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

प्रमुख खरेलले रगतका अभावको पीडा पर्नेलाई मात्र थाहा हुने भएकाले सहज र निःशुल्कका लागि रेडक्रससँग समन्वय गरेको बताउनुभयो । रगतका लागि मुसिकोटका नागरिकले आफ्नो प्रमाणित कागजात पेश गर्नुपर्नेछ । प्रमाणको आधारमा रक्तसञ्चार केन्द्रले रगत उपलब्ध गराउने मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो ।

रगतको रकम मुसिकोट नगरपालिकाले रेडक्रसलाई बुझाउनेछ । गुल्मीमा नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतका लागि सहजीकरण गर्ने गरेको छ । समाज ०७६ सालमा स्थापना भएको हो । समाजमा अहिले १३६ जना आजिवन सदस्य रहेका छन् । समाजले अहिलेसम्म आठ सय २३ प्रिण्ट रगत निःशुल्क सहयोग गरेको छ । भने गुल्मी अस्पतालमा डाइलासिस गर्ने १८ जनालाई ४२ प्रिण्ट रगत सहयोग गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष धुव्र्र पाण्डेयले बताउनुभयो ।