फडिन्द्र अधिकारी
लेखनाथ, चैत १९ गते । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधाबापत पाउने सबै रकम समाजसेवामा खर्च गर्नुभएको छ । प्रदेशसभाको अघिल्लो कार्यकालमा समेत सांसद रहनुभएका उहाँले सात वर्षको अवधिमा ७९ लाख ४२ हजार तीन सय २४ रुपियाँ सामाजिक कार्यमा खर्च गर्नुभएको हो ।
मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी उहाँले पछिल्लो वर्ष आफ्नो सेवा, सुविधाबाट गरेका सहयोगबारे जानकारी दिनुभयो । २०८० फागुनदेखि २०८१ माघसम्म उहाँले १० लाख एक हजार तीन सय २४ रुपियाँ विभिन्न सङ्घ, संस्था र व्यक्तिलाई सहयोग गर्नुभएको छ । उहाँले सारङ्गी प्रशिक्षण पाठशालालाई १५ हजार प्रदान गर्नुभएको छ भने दुई क्यान्सरका बिरामीलाई जनही २५ हजार प्रदान गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित थापाले निर्वाचनकै बेला आफूले पाउने सेवा, सुविधा जनताकै निम्ति खर्चिने प्रतिबद्धता जनाउनुभएको थियो । “जनताकै माग अनुसार मैले पाउने सेवा, सुविधा मैले रचनात्मक कार्यमा खर्च गर्दै आएको छु,” उहाँले भन्नुभयो, “कास्की २ (२) का जनतासँग गरेको प्रतिबद्धतालाई पूरा गर्न म लागेको छु ।”
प्रदेशसभाको पहिलो कार्यकालमा उहाँ कानुन न्याय तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो । उहाँले सङ्घ सरकारले कानुन निर्माण नगर्दा र आवश्यकता अनुसार बजेट नदिँदा जनअपेक्षाअनुरूप काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो मन्त्रालयले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, कमाउँदै सिक्दै, अभिभावक शिक्षा, गण्डकी स्वजागरण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाउनुभयो ।
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयक छलफलका क्रममा रहेको र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयकसमेत प्रदेशसभामा रहेको उहाँले स्मरण गर्नुभयो । प्रदेशले आन्तरिक स्रोत बढाउन नसकेको र सङ्घकै भर पर्नुपर्ने अवस्थाले प्रदेश सरकारहरू प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ ।
नेपाल प्रेस युनियन कास्कीले आयोजन गरेको कार्यक्रमको अध्यक्ष अध्यक्ष वासुदेव मिश्रले गर्नुभएको थियो ।