• २० चैत २०८१, बुधबार

बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु

blog

शिविरमा नाम दर्ताका लागि लामबद्ध बिरामीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १९ गते ।
म्याग्दीको बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र  शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि शिविर सञ्चालन गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मुटु रोगीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरमा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिने जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान १० बजेसम्म करिब तीन सय ५० जनाले नाम दर्ता गरिसकेका छन् ।

शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्त परीक्षण गरिने शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रबी मल्लले जानकारी दिनुभयो । शिविरमा बिहानैदेखि मुटुको परीक्षण र उपचारका लागि बिरामीहरू ठुलो सङ्ख्यामा आउनुभएको छ । शिविरमा प्रदेश अस्पताल बेनीले शिविरलाई सफल पार्न स्वाथ्यकर्मीहरू परिचालन गरेको छ ।  

शिविरमा म्याग्दी उद्योग वाणिज्य सङ्घ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी, ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पसले स्वंयमसेवक परिचालन गरेका छन् ।