• २० चैत २०८१, बुधबार

सरकारले म्यानमारमा सहायता सामग्री पठाउने

blog

काठमाडौँ, चैत १९ गते । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्नलगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्ने गरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरू म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यससम्बन्धी बैठकमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सहायता सामग्री सहयोगका लागि नेपालका निजी क्षेत्रका सङ्घ संस्थाहरुलाई पनि आह्वान गर्नुभयो । 

उहाँले अप्ठेरोमा परेका म्यानमारका जनतालाई तत्कालका लागि आवश्यक सहयोग पुग्ने गरी मानवीय सहायता एवं राहातस्वरुप नेपाल सरकारले सामग्री पठाउने जानकारी दिनुभयो । 

सो बैठकमा उपस्थित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाललगायतले निजी क्षेत्रका तर्फबाट संस्थागत रूपमा सहायता सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई, गृह सचिव गोकर्णमणि दुवाडी, अर्थ सचिव घनश्याम उपाध्यायले सहायता सामग्रीहरू जम्मा गरेर परराष्ट्र मन्त्रालयमार्फत जतिसक्दो चाँडै म्यानमार पठाइने बताउनुभयो । 

म्यानमारमा यही चैत १५ गते गएको ७.७ रेक्टर स्केलकाे भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ ।