• २० चैत २०८१, बुधबार

चैते धान रोप्न सुरु

blog

लालबन्दी नगरपालिका–४, हरिभवनमा चैते धान रोप्न बिउ काढ्दै किसान । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, चैत १९ गते । सर्लाहीमा सिँचाइ सुविधा रहेको क्षेत्रका किसानले धमाधम चैते धान रोप्न सुरु गरेका छन् । कुलो तथा नहरको पानी लाग्ने र पम्पसेटबाट पानी आउने क्षेत्रमा चैते धानको रोपाइँ सुरु भएको हो । 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले फिल्ड भिजिटमा जाँदा कविलासी, ईश्वरपुर, लालबन्दीलगायत क्षेत्रमा धमाधम चैते धान रोप्न सुरु भएको पाइएको जानकारी दिनुभयो । सर्लाहीमा गत वर्षदेखि चैते धानको खेती बढेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष जिल्लामा ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । 

बिचमा केही वर्ष चैते धानको खेती नै हुन छाडेको भए पनि पम्पसेट र बोरिङ सञ्चालन गरेर गत वर्षदेखि किसानले चैते धान फेरि लगाउन थालेका कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले बताउनुभएको छ । उहाँका अनुसार वैशाख दोस्रो सातासम्म किसानले चैते धान रोप्ने गरेका छन् । 

अब गहुँ काट्नसमेत सुरु भएको र गहुँ बाली भित्र्याएपछि धेरै किसानले चैते धान रोप्ने गरेका पालिकाको कृषि शाखाले जनाएका छन् । सर्लाहीमा पूर्वपश्चिम राजमार्गदेखि दक्षिणतर्फ चैते धान खेती हुने गरेको छ । 

राजमार्गदेखि दक्षिणतर्फ नहरबाट पानी लाग्ने र नहर नभएको ठाउँमा किसानले पम्पसेट तथा बोरिङ सञ्चालन गरेर भए पनि चैते धान खेती गर्ने गरेका छन् । गत वर्ष चैते धान खेती विस्तार गरेका र मौसमले साथ दिँदा उत्पादनसमेत राम्रो भएकाले सर्लाहीका किसान यस वर्ष पनि चैते धान खेती गर्ने योजनामा रहेका छन् । 

गहुँ पाक्न लागेको किसानले चैते धानको ब्याड तयार पारिरहेका छन् । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले नगरका विभिन्न वडामा चैते धान रोप्न सुरु भइसकेको बताउनुभयो । 

पौडेलका अनुसार लालबन्दी नगरपालिकाभित्र पानीको सुविधा रहेको जब्दी, सिस्वा, हरिभवन, जुटपानी, रानीगन्ज र जियाजोर क्षेत्रमा चैते धानको खेती हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म सुक्खा रहेकाले चैते धान रोप्ने किसानलाई समस्या परेको पौडेलले जानकारी दिनुभयो ।