काठमाडौँ, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुभएको छ । संसद् भवन नयाँबानेश्वरमा आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भमै सम्बोधन गर्नुभएको हो । बैठक अझै जारी छ ।
प्रधानमन्त्री ओलीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा लगातार जारी राखेको संसद्को अवरोध अन्त्य हुने विश्वास गरिएको छ । आजको बैठकबाट नै महत्त्वपूर्ण पाँच वटा प्रतिस्थापन विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ ।
बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने सूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यावसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।