• १५ असार २०८१, शनिबार

जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका भण्डारी निर्विरोध

blog

जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध चयन हुनुभएका गगन सिंह भण्डारी । तस्बिर : पुष्कर भण्डारी ।

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ २१ गते । जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध चयन हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो ।

उहाँ नेपाली कांग्रेस अमरगढी नगरपालिका नगर कार्यसमिती उपसभापती हुनुहुन्छ । उहाँ अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित हुनुभएको छ । उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी हुनुभएको थियो । 

जिसस समितिका लागी शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत  हरिप्रशा शर्मा उपाध्यायले जानकारी दिनुभयो ।

जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध चयन हुनुभउको छ । उम्मेदवारहरू निर्विरोध चयन भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । 

दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो । जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो । सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति काँग्रेसकै नेतृत्वमा गठन भएको हो ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, अजमेरु गाउँपालिका उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको थियो । उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो । एमालेले भने यहाँ शून्य छ ।