काठमाडौँ, चैत १७ गते । सरस्वती युथ क्लबलाई सहिद स्मारक‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबको झट्का लागेको छ ।
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा टुसालले सरस्वती क्लबलाई १–० गोलले हरायो । टुसालको जितमा कमल विश्वकर्माले गोल गर्नुभयो ।
कमलले खेलको पहिलो मिनेटमै गर्नुभएको गोल निर्णायक बन्यो । सुरुवातमै गोल खाएको सरस्वतीको गोल फर्काउने प्रयास सफल भएन ।
लिगमा पहिलो हार खेपेको सरस्वतीले तीन खेलबाट ६ अङ्क छ । यस्तै पहिलो जितसँगै टुसालले समान खेलबाट पाँच अङ्क बनाएको छ ।
लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।