दोलखा समाचारदाता
दोलखा, चैत १६ गते । दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटीले असारे विकास अन्त्य गरी समयमै वडाका योजनाको काम सम्पन्न गर्न लागेको छ ।
आर्थिक वर्ष २०८१/८२ का करिब तीन करोड रुपियाँ बजेटका विविध खाले २१ वटा योजनामध्ये अधिकांश सम्पन्न हुन लागेका वडाध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि तथा पशुपालनका एक घर एक गाईपालन, एक घर एक मौरी घार, तोरी प्रवर्धन कार्यक्रम सम्पन्न भइसकेका छन् । सुत्केरी गाईभैँसी पोषण कार्यव्रmम र धानको बियाँ परीक्षण कार्यक्रम पनि यसै महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको छ । पूर्वाधार विकास तथा सिप विकास कार्यक्रम अन्तर्गत वडास्तरीय सडक मर्मत, विद्यालयमा धुलोरहित कक्षाकोठा ललितकला सिप विकास, मुडा बनाउने सिप विकास, प्रविधिमैत्री शिक्षण सामग्री वितरण, वीरेन्द्र माध्यमिक विद्यालयको भौतिक सुधार, शैक्षिक सुधार कार्यक्रम पनि सम्पन्न भइसकेका छन् । लप्टन टोल–थापागाउँ, प्वाँर टोल–घ्याङडाँडा र रङ्गशाला–छहरे सडक सोलिङको काम सम्पन्न भइसकेको छ ।
ठेक्कामार्फत भएका बोथ्ले–काठाकुटी सिँचाइ, ओखरबोट–काटाकुटी सिँचाइ, बाघखोर–वीरेन्द्र मावि–गाईघाट सडक ढलान, मेलघुम्ती–काटाकुटी–दुधपोखरी–लिसङ्खु सडक ढलान गर्ने काम भइरहेको छ । उपभोक्तामार्फत सुरु भएका वीरेन्द्र माविको दुईकोठे भवन निर्माण र देवस्थान–कुटीखोला सडक सोलिङको काम पनि वैशाखमै सम्पन्न गर्ने गरी काम भइरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।