• १८ चैत २०८१, सोमबार

भारतबाट थप चार सय छ मेगावाट विद्युुत् आयात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १६ गते  । छिमेकी मुलुक भारतबाट नेपालमा थप ४०६ मेगावट विद्युुत् आउन थालेको छ । भारतले थप चार घण्टा विद्युत् दिने सहमति गरेसँगै ४०६ मेगावाट विद्युुत् आउन थालेको नेपाल विद्युुत् प्राधिकरणले जानकारी दिएको छ । 

यससँगै अहिले बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध हुुने प्राधिकरणले जानकारी दिएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो । 

प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बिहीबार राति १२ बजेदेखि नै भारतबाट विद्युुत् आउन सुरु गरेको जानकारी दिनुुभयो । राति १२ बजेदेखि बिहान ४ बजेसम्म बिजुुली आएको उहाँले बताउनुभयो । थप ४०६ मेगावाट विद्युुत्को आयातसँगै उद्योग क्षेत्रमा आपूर्ति व्यस्था सहज हुने उहाँले जानकारी दिनुुभयो । आयातित विद्युत् ढल्केबर–मुजप्फरपुर प्रसारण लाइनबाट ल्याइने छ । 

भारतले चार सय केभी ढल्केबर–मुजप्फरपुरबाट छ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मङ्सिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । यस अनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । आइएक्सबाट हालसम्म दिउँसो साढे पाँच सय मेगावाटसम्म आयात हुँदै आएको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समितिबाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ  । पिइसीमार्फत ३५० मेगावाट आयात गर्न पाइने भए पनि नेपालले दुई सय मेगावाट मात्र ल्याउने गरेको छ । हाल भारतले आगामी जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा एक हजार चार मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

भारतले गत १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो । अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म छ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो । 

रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ दी रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ ।

उद्योगीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङले औद्योगिक उत्पादनमा ५० प्रतिशतले कमी आएको छ । थप बिजुुली आएसँगै औद्योगिक क्षेत्रमा आपूूर्तिमा सहज हुने छ । सिमेन्ट उत्पादक सङ्घ, स्टिल उत्पादक र धागो उत्पादक सङ्घले हालै पत्रकार सम्मेलन गरेर लामो लोडसेडिङका कारण औद्योगिक क्षेत्रमा ठुुलो असर परेको बताएका थिए । भारतबाट थप बिजुली आयात भएसँगै औद्योगिक क्षेत्रका लागि बिजुली आपूर्ति सुनिश्चित भएको भन्दै सिमेन्ट उत्पादक सङ्घले सरकारको पछिल्लो निर्णयलाई स्वागत गरेको छ ।