• १८ चैत २०८१, सोमबार

सुधारतर्फ अर्थतन्त्र वृद्धिदर ५.१ प्रतिशत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १५ गते । चालु आर्थिक वर्ष २०८/८२ को दोस्रो त्रैमासिक (कात्तिक–पुस) मा मुलुकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादन मापनमा प्रयोग गरिने १८ वटै औद्योगिक क्षेत्रमा देखिएको सुधारका कारण मुलुकको अर्थतन्त्र गत आवको सोही अवधिको तुलनामा ५.१ प्रतिशतले विस्तार हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको हो । दोस्रो त्रैमासिकमा यातायात, निर्माण, कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि नै अर्थतन्त्र विस्तारको मुख्य कारण बनेको कार्यालयले जनाएको छ । अर्थतन्त्र वृद्धिदरको यो अनुमान मौसमी प्रभाव समायोजन नगरिएको अवस्थाको हो । 

यातायातको वृद्धिदर अगाडि

कार्यालयका अनुसार गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा यातायात तथा भण्डारण क्षेत्रसँग सम्बन्धित क्रियाकलापको कुल मूल्य अभिवृद्धि दर सबैभन्दा धेरै अर्थात् १४.२ प्रतिशत रहेको छ । 

त्यस्तै खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशतले वृद्धि हुँदा विद्युत् तथा ग्यास क्षेत्रले ९.२ प्रतिशतले वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । 

निर्माण क्षेत्रमा पनि स्पष्ट सुधार देखिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर सामना गरेको यस क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत रहने अनुमान छ । निर्माण सामग्रीको आयात तथा घरेलु उत्पादनको वृद्धिका कारण यस क्षेत्रको वृद्धिदर देखिने कार्यालयले जनाएको छ । 

उत्पादनमूलक उद्योगको वृद्धिदर पनि ७.४ प्रतिशत हुने अनुमान छ । औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आउँदा उत्पादनमूलक उद्योगको विस्तार हुने देखिएको हो । 

निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रमा मूल्य अभिवृद्धि दर ६.६ प्रतिशत हुने कार्यालयले अनुमान गरेको छ । व्यापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत रहँदा सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत हुने अनुमान छ ।  

अर्थतन्त्रको महत्वपूर्ण हिस्सा कृषि क्षेत्रको वृद्धिदर भने सामान्य मात्र हुने प्रक्षेपण गरिएको छ । धानको उत्पादनमा भएको वृद्धि साथै तरकारी, अमिलो जातका फलफूल तथा हिउँदे फलफूल र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ । 

कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा आएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धि थप विस्तार हुने अनुमान गरिएको छ । मौसमी प्रभावको अवस्थालाई समेत समायोजित गर्दा भने चालु आवको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर २.२ प्रतिशत पुग्ने कार्यालयको अनुमान छ ।