• १७ चैत २०८१, आइतबार

पुतलीको जीवन सुरक्षा

blog

जलवायु परिवर्तनको असर सर्वत्र देखिन थालेको छ । तापमान वृद्धिले सबैको जीवन प्रभावित मात्र होइन, जोखिममा पर्ने खतरा बढेको छ । औद्योगिक युग सुरु भएयता जैविक इन्धनको अत्यधिक उत्सर्जनले सबैको साझा घर पृथ्वी तात्न थाल्दा विभिन्न चुनौती थपिएका हुन् । बढ्दो तापमानलाई औद्योगिक युग सुरु हुनुपूर्वको अवस्थामा फर्काउन नसक्ने हो भने मानिसलगायत सबै जीवजन्तुको अस्तित्व नै सङ्कटमा पर्ने हो कि भन्ने अवस्था उत्पन्न भएको छ । यतिबेला पुतलीको फूलबाट धमाधम लार्भा निस्किँदै छन् । जलवायु परिवर्तनले फागुन नलाग्दै पलाएका बोटबिरुवाका पालुवा करिब करिब छिप्पिसकेका छन् । ती लार्भाले खाने पालुवा समयअगावै पलाउँदा खानेकुराको जोहो गर्न उनीहरूलाई कठिन हुन थालेको छ । बढ्दो तापक्रमसँगै बदलिँदो जलवायु परिवर्तनको असर पुतलीको जीवनचक्रमा पर्न थालेको छ । हिउँद तातो हुँदा बोटबिरुवामा पालुवा र फूल छिट्टै लाग्न थालेका छन् । पुतलीको पहिलो सानो लार्भाले खाने बेलामा तिनका पात छिप्पिसकेको हुन्छ र खान सक्दैन, त्यसले उसको जीवन सङ्कटमा पर्न थालेको छ । उसको खानेकुराको चव्रmमा असर पर्दा पुतली लार्भा कमलो पातको खोजीमा भौँतारिँदै पुतली नहुँदै मर्न सक्ने खतरा बढेको छ । 

पुतलीको जीवनचक्रमा पहिले पुतलीले पारेको फुल न्यानो मौसममा लार्भामा परिणत हुन्छ । सानोबाट मध्यम र ठुलो हुँदै लार्भाको चार चरण फेरिइसकेपछि पाँचौँ चरणमा प्युपामा परिणत भएको करिब एक सातामा वयस्क पुतली बनेर निस्कन्छ । यी सबै चरण पार गर्न वातावरण अनुकूल भएमा कम्तीमा चार साता लाग्छ । पुतली नेपालको पारिस्थितिक प्रणालीको महत्वपूर्ण जीव हो । पुतलीबिना सानाठुला बोटबिरुवामा फूल तथा फल लाग्नै कठिन हुन्छ । पुतली एउटा बोटदेखि अर्को बोट अनि एउटा फूलदेखि अर्को फूलमा रमाउँदै उड्ने सुन्दर जीव हो ।  रमाउने मात्र होइन, बिरुवामा फूल र फल लगाउने महत्वपूर्ण काम ‘पोलिनेसन’ गराउने माध्यम नै पुतली हुन् । प्रकृतिमा निशाचर र दिवाचर दुईथरीका पुतली पाइन्छन् । दिवाचर दिउँसो सक्रिय हुन्छन् भने निशाचर रातमा । रातमा सक्रिय हुने प्रायः मोथ पुतली हुन् । हिउँद सकिएसँगै लाग्ने वसन्त ऋतुको आगमनले बोटबिरुवाले पालुवा हाल्ने र फूल फुल्ने मौसम ल्याउँछ । यही मौसममा पुतलीले आफ्ना अन्डाबाट लार्भा जन्माउँछन् । अनि लार्भा खानाको खोजीमा बोटबिरुवाका पात पातमा पुग्छन् । लार्भा अति नै खन्चुवा हुन्छ । कतिपय पुतली एउटै खालका बोटबिरुवाका पात मात्र मन पराउने हुन्छन्, जसलाई ‘मोनो फाइलस’ भनिन्छ । कतिपय भने दुईभन्दा बढी बोटबिरुवाका पात छानी छानी खान रुचाउँछन् । तराईका पुतली प्रायः खयरको पात खान मन पराउँछन् । पहाडतिर किम्बु, तरकारी तथा अन्य फल तथा फूलका पात पुतलीका आहारा हुन् । 

जलवायु परिवर्तनको असरले पुतलीको जन्मदेखि मृत्युसम्मकै चक्रमा असर पर्न थालेको छ । छिटो गर्मी बढ्दा अन्डाबाट लार्भा र पुतली बन्ने क्रम छिटो हुन्छ र मर्ने क्रम पनि छिटै हुने गरेको छ; जसले मौसम अनुसार यसले गर्नुपर्ने योगदानमा फरकपना आउँदा वनस्पति चक्रको फूल फुल्ने र फल लाग्ने क्रियामा पनि परिवर्तन आउने गर्छ । जलवायु परिवर्तनको असरले पुतलीको वासस्थान पनि बदलिन थालेका छन् । पहिले तराईमा मात्र पाइने पुतली अहिले राजधानी काठमाडौँ उपत्यकाका पहाडमा धेरै देखिन थालेका छन् । हिमरेखा छेउछाउमा पाइने पुतली अचेल माथिल्लो हिमाली भेगमा पनि देखिन थालेका छन् । पुतलीको वासस्थान परिवर्तनकै कारण तल्लो भेगमा फुल्ने फलफूल पनि माथिल्लो भेगतिर फल्न र फुल्न थालेका छन् । काठमाडौँ उपत्यकाको गोदावरीदेखि फूलचोकीसम्मको भूभाग र शिवपुरी पहाडमा ३६९ प्रजातिका दिवाचर पुतली पाइन्छन् । नेपालभर कुल ६९२ प्रजातिका पुतली रहेको तथ्याङ्क छ । निशाचर पुतलीको सङ्ख्या करिब तीन हजारभन्दा बढी छ । प्रकृति जस्तै सुन्दर सिर्जना मानिने पुतलीलाई पारिस्थितिक प्रणालीसँगै जलवायु परिवर्तनको प्रमुख सूचक मानिन्छ । प्रदूषणमा पुतली बाँच्न सक्दैन । पुतलीको जीवनरक्षामा जलवायु परिवर्तन मुख्य कारक मानिएको छ । यतिबेला विश्व नै जलवायु परिवर्तनको मारमा परेको छ; जसको प्रभाव मानव जीवनमा बढी छ । जीवजन्तुमा पनि त्यसको प्रभाव पर्ने नै भयो । हिमाली मुलुकहरूले जलवायु परिवर्तनले गम्भीर सङ्कट निम्त्याएको भन्दै ठुला मुलुकलाई कार्बन उत्सर्जन कम गराउन सचेत गराउँदै आएका छन् । मानवलाई जलवायु परिवर्तनको सङ्कटबाट मुक्त गराउन सके जीवजन्तुको पनि सुरक्षा हुने छ । पुतली पनि त्यसबाट अछुतो रहन सक्दैन ।