काठमाडौँ, चैत १३ गते । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकालेको छ ।
घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हरायो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमोनले गोल गर्नुभयो ।
ब्राजिलका म्याथियस कुन्हाले सान्त्वना गोल फर्काउनुभयो । यस खेलमा घाइते बन्नुभएका लियोनल मेस्सी र ब्राजिलका नेयमारले खेल्नुभएको थिएन । केही समयअघि मात्र अमेरिकी छनोटमा उरुग्वे र बोलिभियाले गोलरहित बराबरी खेलेपछि शीर्षस्थानमा रहेको अर्जेन्टिना विश्वकप यात्रा सुनिश्चित बनेको थियो ।
सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपमा दक्षिण अमेरिकी देशबाट छनोट हुने अर्जेन्टिना पहिलो देश हो । जितसँगै शीर्षस्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अङ्क बनाएको छ ।
यस्तै २३ अङ्क बनाएको इक्वेडर दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको उरुग्वे र चौथो स्थानमा रहेको ब्राजिलको पनि छनोटको सम्भावना जिवित छ । एजेन्सी