• १८ चैत २०८१, सोमबार

अरूले खाएको चुरोटको धुँवाले प्रत्येक वर्ष १२ लाख मानिसको मृत्यु

blog

काठमाडौँ, चैत १५ गते । अरूले खाएको चुरोटको धुँवाले पनि स्वास्थ्यमा असर पुर्‍याउने तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले अरूले खाएको चुरोटको धुँवाले विश्वमा प्रत्येक वर्ष १२ लाख मानिसको ज्यान लिने देखाएको छ । 

विश्वमा सुर्तीजन्य प्रदार्थको सेवनले प्रत्येक वर्ष ८२ लाख मानिसको मृत्यु हुने गर्छ जसमध्ये १२ लाख मानिसको ज्यान अरूले खाएको चुरोटको धुँवाले हुने गर्छ । 

नेपालमा वार्षिक २७ हजार मानिसको मृत्यु सुर्तीजन्य प्रदार्थको सेवनले हुने गर्छ । सुर्तीजन्य प्रदार्थ र मदिराको सेवनले नसर्ने रोगको भार दिन प्रत्येकदिन बढ्दै गएको जानकार बताउँछन् । नेपालमा विशेष गरी युवावर्ग धुम्रपान र सुर्तीजन्य पदार्थको कुलतमा फस्दै गएको चिकित्सकको भनाइ छ । 

यो समस्यालाई नियन्त्रण गर्न सरकारले यसतर्फ ध्यान नदिने हो भने अबको २०-३० वर्षमा क्यान्सर भयाभह अवस्थामा देखिने वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा.विवेक आचार्य बताउनुहुन्छ । 

 उहाँ भन्नुहुन्छ,“अहिले युवा वर्गमा जसरी धूम्रपानको तल फस्दै गएका छन् । यसलाई बेलैमा नियन्त्रण गरिएन भने अबको २० देखि ३० वर्षमा क्यान्सरका बिरामी थेग्नै नसक्ने गरी बढ्ने अनुमान छ ।” 

 पछिल्लो समय हुक्का, भेव सेवन गर्ने प्रचलन छ । त्यसले झन स्वास्थ्यमा झन स्वास्थ्य समस्या निम्तने उहाँको भनाइ छ । 

सुर्तीजन्य प्रदार्थले निम्त्याउने स्वास्थ्य समस्या 

डा.आचार्यका अनुसार सुर्तीजन्य प्रदार्थको सेवनले शरीरका प्राय सबै अङ्गमा असर पुर्‍याउने गर्छ । प्राडा.आचार्यले सूर्तीजन्य प्रदार्थले १२ देखि १३ प्रकारका क्यान्सर हुने बताउनुहुन्छ । 

सुर्तीजन्य प्रदार्थको सेवाले मुख, घाँटी, खाना नली, फोक्सा, कोलोन क्यान्सर, पेटलगायतका क्यान्सर बनाउने जोखिम बढाउँछ । 

त्यो बाहेक सुर्तीजन्य प्रदार्थको सेवनले मुटुसम्बन्धी रोग निम्त्याउने गर्छ । सुर्तीजन्य प्रदार्थको सेवनले रक्तनली जाम भई खुट्टै काट्नै पर्ने अवस्था आउने उहाँको भनाइ छ । 

सुर्तीजन्य पदार्थले मुटुका नसा जाम बनाउने हुँदा हृदयघात र स्टोक हुने उहाँ बताउनुहुन्छ । फोक्सोलाई खराब गर्नुका साथै श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या निम्तने उहाँको भनाइ छ । अध्ययनहरूले ९० प्रतिशत दम र फोक्सोसम्बन्धी रोग सुर्तीजन्य प्रदार्थको सेवनले लाग्ने देखाएको छ । सुर्तीजन्य प्रदार्थले फोक्सोलाई खराब पार्नुका साथै निमोनिया, दमलगायतका जोखिम बढाउने गर्छ । 

 छातीको सङ्क्रमण भएपछि निमोनिया, दम,श्वासप्रश्वास सम्बन्धी समस्याको जोखिम बढ्दै जाने आचार्यको भनाइ छ । ५० प्रतिशत क्षयरोग धुम्रपानको सेवनले गर्दा हुने गर्छ । उहाँका अनुसार सुर्तीजन्य पदार्थले मधुमेहको जोखिम पनि बढाउने गर्छ । ४० प्रतिशत टाइप टू मधुमेह धुम्रपानको सेवनको कारणले गर्दा हुने उहाँको भनाइ छ ।  

धुम्रपानले प्रजनन स्वास्थ्यमा पनि असर पुर्‍याउने चिकित्सक बताउँछन् । गर्भवतीले धुम्रपानको गरेमा ३० प्रतिशत समय अगावै बच्चा जन्मने, अङ्गभङ्ग भएका बच्चा जन्मने, गर्भ खेर जानेजस्ता समस्या निम्तने जोखिम बढ्ने उहाँले जानकारी दिनुभयो । त्यो बाहेक हड्डी, आँखाको समस्या निम्त्याउने गर्छ । 

धुम्रपानले आफुलाई मात्र होइन आफ्ना परिवारको सदस्यको स्वास्थ्य खराब गर्ने गर्छ । परिवारको कसैले धुम्रपानको सेवन गर्छ भने अन्य सदस्यलाई पनि जोखिम बढ्ने चिकित्सक बताउँछन् । 

बालबालिकाको फोक्सोमा सङ्क्रमण भई सास फेर्न गाह्रो हुनेलगायतका श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या निम्तने गर्छ । 

चिकित्सकका अनुसार सुर्तीजन्य प्रदार्थमा करिब चार हजार प्रकारका रसायनहरू हुन्छन् । यी मध्ये दुई सयदेखि चार सय हानिकारक रसायन हुन्छन् । 

सुर्तीमा करिब ६० थरीका प्राणघात क्यान्सर गराउने तत्व हुन्छन् । सुर्तीमा खोटो, कार्बनमोनोक्साइड जस्ता प्राणघातक रसायन पाउनुका साथै निकोटिनले धुम्रपानको लत लगाउने चिकित्सक बताउँछन् ।  

नसर्ने रोग रोगलाई रोकथाम गर्न सुर्तीजन्य प्रदार्थ नगर्ने चिकित्सकको सुझाव छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार धुम्रपान छोड्दा २० मिनेटमा  मुटुको धड्कनको दर घट्छ । १२ घण्टाभित्र  रगतमा भएको कार्बनमोनोक्साइड स्तर घटेर सामान्य हुन्छ । २ देखि १२  हप्ताभित्र  रक्तसञ्चारमा सुधार आउँछ ।  तीन देखि १५ वर्षभित्र  स्ट्रोकको जोखिम धुम्रपान नगर्ने मानिसको स्तरमा आइपुग्छ । १० वर्षभित्र मुटुरोगको जोखिम घटेर धुम्रपान नगर्नेको स्तरमा आइपुग्छ । 

कानुनीरूपमा सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाइने व्यवस्था भएपनि यो कार्यान्यनमा आउन सकेको छैन ।  


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।